३ जेष्ठ २०८१, बिहीबार

विकास गर्ने र विनाश रोक्ने स्थानीय तहका जनप्रतिनिधिहरुको मुख्य दायित्व : नेता रावल



धनगढी । नेकपा स्थायी कमिटि सदस्य तथा पूर्व उपप्रधानमन्त्री भीम रावलले स्थानीय तहमा विकास गर्ने र विनाश रोक्ने स्थानीय तहका जनप्रतिनिधिहरुको मुख्य दायित्व भएको बताएका छन् ।


मंगलबार जिल्ला समन्वय समिति कैलालीले आयोजना गरेको समिक्षा गोष्ठी उद्घाटन गदै रावलले जनताका आकांक्षा पूरा गर्ने विकासका गतिलाई तिब्रता दिने जिम्मेवारी स्थानीय जनप्रतिनिधिहरुको भएको बताए ।
‘विकासका लागि चाहिने भन्दा साधन स्रोत कमै छ त्यसैमा दुरुपयोग भएको सुनिन्छ यस्तो तरिकाले कसरी विकास हुन्छ ?’ उनले भने, ‘चुरेक्षेत्र नाश भैरहेको छ । बन विनाश भैरहेको छ यो कसले संरक्षण गर्ने ? जनप्रतिनिधि चिन्तित भएर अग्रसर हुनुपर्ने जिम्मेवारी स्थानीय तहका जनप्रतिनिधिको हो ।’
उनले कैलाली जिल्ला जंगल र पर्यावरणका लागि राष्ट्रिय महत्व रहेको र केही व्यक्तिको स्वार्थका लागि भोलिको पुस्तालाई अध्यारो तर्फ धकेल्ने प्रयास रोक्ने जिम्मा जनप्रतिनिधिको रहेको बताए ।
‘ढुंगा गिट्टीको प्रयोग गर्दा पर्यावरण बिग्रीनु भएन । अलिकति कर राजश्वको लोभमा पर्यावरण मास्ने कार्य भए भोलि त्यसैको संरक्षणका लागि करोडौ लाग्न सक्छ’ उनले भने ।


उनले वातावरणीय अध्ययन नगरी डोजर नचलाउन जनप्रतिनिधीहरुसंग आग्रह गर्दै ‘अहिले डोजर किनेर चालक भर्ना गरेर जताततै खन्ने प्रवृतिले कहा लैजाला ?’
उनले सामाजिक एकता र साम्प्रदायिक सदभाव कायम राख्न जनप्रतिनिधीहरुले भुमिका निर्वाह गर्नुपर्ने बताए । ‘कैलाली जिल्ला थारु समुदायको ठूलो बसोबास भएको जिल्लामा धेरै जिल्लाका मानिसहरु बसोबास भैरहेको छ । सामाजिक एकता र साम्प्रदायिक सदभाव संवेदनशिल भएर जनस्तरमा लैजाने काम जनप्रतिनिधीहरुको हो’ उनले भने –‘देशको उन्नतिमा सबै जातको उन्नति हुन्छ देशको पहिचान मेटिने, पहिचान मेटिएको देशभित्र कुनै जाति विशेषको पहिचान भेटिने कुरा संभव छैन ।’ रावलले नेपालमा कुनै पनि जातीको बहुमत नभएले सबै मिलेर अघि बढेमा विकास सम्भव रहेको बताए ।
‘विभेद, असमानता शोषणको विरुद्धमा छौं’ उनले भने –‘तर असमानता हटाउने नाममा समाजका एउटा जातिलाई अर्को समुदाय विरुद्ध उतार्ने हो भने सोमालिया सिरिया जस्तो बन्ने खतरा हुन्छ ।’
कार्यक्रममा नेकपाका नेता लेखराज भट्टले प्रदेशको समृद्धिका लागि स्थानीय तहले प्राथमिकताका योजना अघि बढाएर अघि बढ्न सुझाव दिए । ‘कृषि प्रणालीलाई उत्पादनमुखी बनाउ, पर्यावरण संरक्षणमा ध्यानमा दिऊ’ उनले भने ‘जंगल अतिक्रमण भैरहेको छ गोदावरी, बसन्ता जंगल फडानी भैरहेको छ तर जनप्रतिनिधिहरु भोटको लोभले बोल्न नसकिरहेको छ ।’
उनले प्रश्न गरे ‘वातावरणीय प्रभाव मुल्यांकन नगरी जेसीवीले डाडा भत्काएका भत्कायै छन त्यो विकास हो कि विनाश हो हेरौ ?’
उनले जनप्रतिनिधीहरुलाई आम नेपाली जनतालाई सुखी बनाउन र विकासलाई जनताको दैलोमा पुर्याउन काम गर्रौ । विकासका लागि उपभोक्ता समितिले कसरी काम गरे कर्मचारीहरुको विकासका कार्यलाई कसरी सहयोग गरिरहेका छन भन्ने कुरा हेर्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार