६ जेष्ठ २०८१, आईतवार

गाउँपालिका विपद व्यवस्थापन गर्दैः डुबान तथा बाढी प्रभावितका लागि उच्च घर



धनगढी । वर्षायाममा बाढी, पहिरो तथा डुबान लगायतका विपदबाट हुने क्षतिको न्युनिकरणका लागि पुर्वसावधानी अपनाइन्छ । पूर्व सावधानीका लागि राहत तथा उद्दार सामग्री तयारी अवस्थामा राखिन्छ । राहत तथा उद्दार सामग्री संगै सुरक्षित स्थानको पनि व्यवस्थागर्नु आवश्यक हुन्छ ।
कैलालीको जोशीपुर गाउँपालिकाले वर्षेनी पथरैया र काँडा नदीको कटान तथा डुबानको समस्या भोग्ने गरेको छ । गाउँपालिकाले वर्षायाममा हुन सक्ने क्षति न्यूनिकरणका लागि विभिन्न वडामा सुरक्षित घर र उच्च धारा निर्माण गरिरहेको छ ।
गाउँपालिकाका अध्यक्ष रामकृष्ण चौधरीले भने–गाउँपालिकामा नदी कटान तथा डुबानबाट हुन सक्ने जनधनको क्षति न्यूनिकरण गर्न जोखिम भएका वडामा उच्च घर तथा धारा निर्माण गर्ने योजना अघि बढाएका छौं । उनका अनुसार डुबानको समस्या आइलाग्दा प्रभावितहरूलाई ती घरमा राख्ने व्यवस्था मिलाइएको छ ।
जोशीपुर गाउँपालिका वडा नम्बर २ को सुकुम्बासी बस्तीमा गाउँपालिकाले दुई वटा उच्च धारा निर्माण गरेको छ । प्रतिधारा ५० हजार रुपैयाको लागतमा दुई वटा धारा निर्माण गरिएको गाउँपालिकाले जनाएको छ ।
वडा नम्बर २ सुकुम्बासी बस्तीकी कृष्णदेवी चौधरीले भनिन्–वर्षातको समयमा यहाँ पानी जम्ने गर्दछ । यसले हामीले प्रयोग गर्दै आएका नल्का (धारा) बाट पानी भर्न समस्या हुने गर्छ ।
उनले गाउँपालिकाले सो क्षेत्रमा हुने डुबानको समस्यालाई लक्षित गरेर उच्च धारा निर्माण गरेकोमा खुशी व्यक्त गरिन् । उनले भनिन्–डुवानको समयमा पानी आवश्यक पर्दा उच्च धाराबाट प्रयोग गर्न सकिन्छ ।
वर्षामा डुबान क्षेत्रमा अशुद्ध खानेपानी प्रयोग गर्दा झाडापखाला, आउँ लगायतका विभिन्न प्रकारको रोगको संक्रमण फैलिने गरेको स्वास्थ्यकर्मीहरू बताउँछन् । गाउँपालिका अध्यक्ष रामकृष्णले भने– डुबानको समयमा स्थानीयहरूदुषित पानी प्रयोग गर्न बाध्य हुन्छन् ।
गाउँपालिकाले वडा नम्बर २, ४ र ७ गरि तीन वडामा दुई÷दुई वटा उच्च धारा निर्माण गरेको जनाएको छ ।
त्यस्तै, गाउँपालिकाले वडा नम्बर १को खमारिया गाउँमा बाढी पीडितका लागि सुरक्षीत घर निर्माण गर्ने कार्यक्रम अघि बढाएको छ । सो घरको जग निर्माण भइसकेको र चालु आर्थिक वर्षमा निर्माण कार्य पुरा हुने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले सो भवन निर्माणका लागि गत आर्थिक वर्ष २०७५÷७६ मा तीन लाख ७० हजार चार सय २४ रकम खर्च गरेको जनाएको छ ।
गाउँपालिका अध्यक्ष रामकृष्णले भने–उच्च घर निर्माण भएपछि डुबान तथा बाढीको समयमा मानिसलाई यो घरमा बसाइने छ । उनका अनुसार गाउँपालिकाको वडा नम्बर १, २, वडा नम्बर ४ र वडा नम्बर ७ ले बाढी तथा डुबानको समस्या भोग्नुपर्ने अवस्था रहेको छ ।
अध्यक्ष रामकृष्णले काडा र पथरैया नदीले यी वडाहरूमा डुबान तथा बाढीको त्रास फैलने गरेको छ । “यी नदीहरू हाम्रो सिमानामा पर्दैनन्, त्यसैले गाउँपालिकाले तटबन्धका कार्यक्रम सञ्चालन गर्न सकेको छैन्’ उनले भने ।
कैलालीको पुर्वी क्षेत्र टीकापुर, लम्की, भजनी नगरपालिका तथा जानकी, जोशीपुर र कैलारी गाउँपालिकामा बाढी तथा डुबानको उच्च जोखिम क्षेत्र मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार