१० श्रावण २०८१, बिहीबार

प्रकाशकीय : अविराम यात्रा



अनुमोदन दैनिक प्रकाशनको ११ औं वर्ष पुरा गरी १२ औं वर्षमा प्रवेश गरेको छ । अनुमोदन साप्ताहिक पत्रिकाका रुपमा २१ वर्षअघि सञ्चालनमा आएको थियो । केही वर्ष साप्ताहिक रुपमा प्रकाशन भएर आन्तरिक कारणले प्रकाशन बन्द भएपछि पुनः दैनिकका रुपमा प्रकाशन शुरु भएको थियो । दैनिकका रुपमा प्रकाशन भएको आज ११ वर्ष पुरा भएको छ । दैनिक रुपमा अनुमोदनको प्रकाशन शुरु गर्दा हामीले उद्घोष गरेका थियौं– अनुमोदन दैनिक पत्रिकाहरूको भीडको एउटा हिस्सा मात्रै बन्न आएको छैन, यो आम पाठकको दिनचर्याको अटुट हिस्सा बन्ने लक्ष्यसहित आएको हो । हामीले यो पनि भनेका थियौं– अनुमोदन दैनिक पाठक वर्गको पहिलो रोजाईको पत्रिका बन्नका लागि आएको हो । व्यवसायिक पत्रकारिता प्रवद्र्धनमा अनुमोदनले आफूलाई नमुनाका रुपमा स्थापित गर्नेछ । यिनै लक्ष्यलाई हृदयंगम गर्दै अनुमोदन दैनिकले ११ वर्ष पुरा गरेको छ । यो अवधिमा हामी आफ्नो लक्ष्यमा कति सफल भयौं ? अनुमोदन दैनिकले प्रवुद्ध पाठक वर्गको चाहनालाई कत्तिको पुरा गर्न सक्यौं, स्वयं पाठक वर्ग तथा समिक्षकको मुल्यांकनको विषय हो ।
अनुमोदन दैनिकको प्रकाशन जारी छ । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी समेत रहेको तथा प्रदेशको प्रमुख व्यापारिक केन्द्रका रुपमा रहेको धनगढीबाट प्रकाशन भइरहेको अनुमोदन दैनिकलाई यो प्रदेशको सबै नौ जिल्लामा पु¥याउने हाम्रो प्रयास जारी छ । यद्यपि, विभिन्न कारणले अहिलेसम्म अनुमोदन दैनिक हरेक दिन बिहान प्रदेशका सबै जिल्लाको सदरमुकाममा पुग्न सहज भइरहेको छैन । हाम्रा लागि अहिले पनि यो प्रमुख चुनौतिका रुपमा रहेको छ ।


नेपाल संघीय संरचनामा प्रवेश गरेसंगै स्थानीय, प्रदेश र संघीय गरी तीन तहका सरकार गठन भएर सञ्चालनमा आइसकेका छन् । संविधानतः केन्द्रीकृत शासनको अन्त्य भएको छ, पूर्ण विकेन्द्रीत शासन प्रणाली लागू भएको छ । शासन प्रणालीको पुनःसंरचना भएको छ । शासन शैलीमा परिवर्तन आएको छ । त्यसैले अहिले स्थानीय वा प्रदेश स्तरका सञ्चार माध्यमको भूमिका अझ महत्वपूर्ण बनेको छ । स्थानीय तथा प्रदेश शासनप्रति जनविश्वास बृद्धि गर्दै संघीय शासन प्रणालीलाई संस्थागत गर्ने र दीगो बनाउनेतर्फ मिडियाको भूमिका बढाउनु पर्छ भन्नेमा अनुमोदन दैनिक विश्वस्त छ ।
निरन्तरको खबरदारी, रचनात्मक पहरेदारी, आम जनताका लागि सूचना प्रवाहको हल्कारा, राज्यका लागि सधैं स्थायी रचनात्मक प्रतिपक्षी, सार्वजनिक नीति निर्माण प्रक्रियामा जनताका आवाजको सम्बोधनका लागि पुलको भूमिकाबारे अनुमोदन दैनिक सधैं सजग छ । हामी मिडियाको आधुनिक युगको भूमिका कुशलतापूर्वक निर्वाह गर्नेतर्फ सधैं तत्पर छौं ।
थुप्रै चुनौति र समस्या छन् । कठिनाई छन् । आन्तरिक र बाह्य रुपमा चुनौति छन् । यी सबै चुनौति र समस्यालाई बोध गर्दै हामी निरन्तर आफ्नो लक्ष्यप्रति उन्मुख छौं । हाम्रो यो प्रयासमा सधैं प्रवुद्ध पाठक वर्ग, समिक्षक, टिप्पणीकार, लेखक, विज्ञापनदाता, वितरकको साथ पाइराख्नेमा विश्वस्त छौं ।
अनुमोदन दैनिक प्रकाशनको ११ औं वर्ष पुरा गरी १२ औं वर्ष प्रवेश गरेको यो अवसरमा हामीप्रति शुभेच्छा व्यक्त गर्नुहुने सम्पूर्ण पाठक वर्ग, विज्ञापनदाता, वितरक, समिक्षक तथा लेखक टिप्पणीकार र हाम्रा सम्पूर्ण पत्रकार साथीहरू तथा कर्मचारीहरूमा कृतज्ञता सहित शुभकामना व्यक्त गर्दछौं ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार