१० श्रावण २०८१, बिहीबार

छिमेकीबाट कुटिएकी महिला ४० दिनदेखि बेहास



धनगढी । जग्गाको सांधसिमाबारे सामान्य विवादमा छिमेकीबाट कुटिएकी कैलालीको लम्कीचुहा नगरपालिका, गप्काकी एक महिला ४० दिनदेखि बेहास छिन् ।


गत असार १७ गते लम्कीचुहा नगरपालिका वडा नम्बर ८, गप्काकी २५ वर्षीया रामजानकी चौधरीमाथि जग्गाको सांधसिमाना मिचेको लगाउँदै छिमेकी तीन जनाले निर्घात रुपमा कुटपिट गरेको बताइन्छ ।
प्रत्यक्षीदर्शीका अनुसार रामजानकीमाथि छिमेकी यमबहादुर चौधरी र उनकी आमा राजदेवी तथा दिदी लक्ष्मीले कुटपिट गरेका थिए ।
कुटपिटपछि बेहोस भएकी उनको अझैं होस आउन सकेको छैन । उनका श्रीमान तीर्थले आर्थिक अवस्था कमजोर भएका कारण रामजानकीलाई उपचारका लागि अस्पताल लग्न नसकेको बताए । उनी अर्धमुर्छित अवस्थामा ४० दिनदेखि घरमै रहेको तीर्थले बताए । तीर्थ सुस्त मनस्थिति समस्याबाट ग्रस्त छन् । रामजानकीकासाढे तीन वर्षका एक छोरा छन् ।
४० दिनसम्म घरमै बेहोस अवस्थामा रहेकी रामजानकीलाई आइतबार छिमेकी मनमाया तामाङ र टंक देउवाको पहलमा उपचारका लागि धनगढीस्थित सेती अञ्चल अस्पताल ल्याइएकोछ।
रामजानकीकाश्रीमान तीर्थले आफ्नो सांधसिमाना मिचेको भन्दै यमबहादुर, राजदेवी लक्ष्मीले कुटपिट गरेको बताए । यमबहादुरको परिवार आर्थिक रुपमा धनी मानिन्छ भने तीर्थको परिवार साढे दुई कठ्ठा ऐलानी जग्गामा बसोबास गरिरहेको छ ।
पीडित तीर्थले न्यायका लागि आफू पटकपटक लम्की इलाका प्रहरी कार्यालय धाए पनि कुनै सुनुवाई नभएको गुनासो गरे । इलाका प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक जनक सिंहले रामजानकीको बाहिरी घाउ नदेखिएकाले मुद्दा चलाउन नसकिएको बताए।
उनले भने– अदालती मुद्दा भएकाले दर्ता गर्न समस्या भएको छ । अदालती प्रक्रिया बारे बुझेर थप प्रक्रिया अघि बढाइनेछ ।

यमबहादुरको परिवार गाउको हुनेखाने परिवार भएकाले सबैलाई प्रभावमा पारेर रामजानकीप्रति अन्याय गरेकोस्थानीयको आारोप छ।
तर, यमबहादुरले रामजानकीलाई कुटपिट नगरेको दाबी गरे । उनले भने– विवाद हुदा मैले सामान्य रुपमा धकेलेको मात्रै हु ।

रामजानकीका आफन्तले भने बाहिरी देखिने चोट नभए पनि भित्र गम्भीर चोट लागेको हुनसक्ने आशंका गरे ।
यसैबीच, रामजानकीको न्यायका लागि धनगढीस्थित राष्ट्रिय मानवअधिकार आयोगमा निवेदन दिइएको छ।
आयोगका प्रदेश निर्देशक झंकरबहादुर रावलले रामजानकी अवस्थाको बारे आयोगमा निवदेन आएको र आफूले घटना बारे बुझ्न जिल्ला प्रशासन कार्यालय कैलालीलाई पत्र लेखिसकेको बताए ।
रामजानकीका श्रीमानलगायतहरु ज्यानमार्ने उद्योगको निवदेन दर्ताका लागि आएका थिए । रामजानकीको स्वास्थ्य अवस्था बारे अस्पतालको रिपोर्ट र अन्य आवश्यक कुरा बुझेर कानुनी प्रक्रिया अघि बढाउने कैलाली प्रहरी प्रमुख एसपी सुदीप गिरीले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार