११ श्रावण २०८१, शुक्रबार

सम्पादकीय : बडीमालिका तीर्थयात्राको रौनक



सुदूरपश्चिमको प्रसिद्ध धार्मिक स्थलका रुपमा रहेको बडीमालिका तीर्थयात्रा यस वर्ष पनि धुमधामसंग शुरु भइसकेको छ । साउन महिनाभरी नै मेला लाग्ने बडीमालिका मन्दिरमा जनैपूर्णिमाको अघिल्लो दिन मुख्य पूजाआजा हुने गर्दछ । बडीमालिकाको यात्रा निकै कठिन र जोखिमपुर्ण मानिन्छ, तर हरेक वर्ष बाजुरा, बझाङ, डोटी, अछाम, कालिकोट, मुगु सहित विभिन्न जिल्लाबाट हजारौं भक्तजन बडीमालिका दर्शनका लागि जाने गर्दछन् । बडीमालिकाको मुल पुजाका लागि सरकारले नै भेटि तथा पुजा सामग्री पठाउने तथा परम्परागत रुपमा अहिले पनि सरकारी अधिकारीहरू जाने गर्दछन् । वास्तवमा प्रत्येक श्रद्धालु भक्तजनका लागि बडीमालिका दर्शनले सधैं लोभ्याउने गर्दछ । पुराणमा बडीमालिकालाई शक्तिपीठका रुपमा बर्णन गरिएको छ । भगवान महादेवका पत्नी सतिदेवीको अंग पतन भएर शक्तिपीठका रुपमा बडीमालिका भगवतीको उत्पत्ति भएको पुराणमा बर्णित छ ।
सुदूरपश्चिम प्रदेश धार्मिक पर्यटनका दृष्टिले निकै धनी मानिन्छ । बडीमालिका, उग्रतारा, शैलेश्वरी, त्रिपुरासुन्दरी, सुर्माभवानी, बैद्यनाथ, मल्लिकाअर्जुन, जगन्नाथ, लगायतका मठमन्दिरका कारण सुदूरपश्चिम धार्मिक पर्यटनका लागि प्रमुख गन्तव्यका रुपमा रहेको छ । बडीमालिका दर्शन भौगोलिक कठिनाईका कारण दुरुह मानिन्छ । ज्यान जोखिममा राखेर बडीमालिका दर्शनका लागि जानु पर्ने हुन्छ । तर, हरेक वर्ष साउनमा लाग्ने बडीमालिका मेलामा हजारौंका संख्यामा श्रद्धालु भक्तजन तथा धार्मिक पर्यटक ओइरिनुले यो तीर्थस्थलप्रतिको आस्था र भक्तिको पुष्टि गर्दछ । निकै कठिन र जोखिमयुक्त यात्रा हुदाहुदै पनि अहिलेसम्म कुनै मानवीय क्षती नभएको सन्दर्भमा बडीमालिकाप्रतिको अटुट विश्वास र आस्था हो भन्नेमा विमति रहदैन ।
सुदुरपश्चिम प्रदेशमा रहेका प्रशिद्ध धार्मिक पर्यटकीय स्थलहरूको संरक्षण तथा संवद्र्धनको दीगो व्यवस्थापन गर्नु पर्दछ भन्नेमा विमति छैन । त्यसका साथै यी धार्मिक स्थलहरूलाई यस क्षेत्रको आर्थिक समृद्धिको बलियो आधारका रुपमा विकास गर्नेतर्फ पनि गम्भीर ढंगले ध्यान दिनु आवश्यक भइसकेको छ । त्यसका लागि यी धार्मिक स्थलहरूसम्मको सहज पहुचका साथै पर्यटक तथा श्रद्धालु भक्तजनका लागि सहज खानेबस्नो व्यवस्था, सुरक्षा, औषधोपचारको व्यवस्थाका लागि दीर्घकालीन योजना बनाएर लागू गर्नेतर्फ ठोस पहल गरिनु पर्दछ । यी धार्मिक पर्यटकीय स्थलहरूको व्यापक प्रचारप्रसारका साथै आन्तरिक तथा बाह्य धार्मिक पर्यटकलाई भित्राउन दीर्घकालीन कार्यक्रम लागु गरिनु पर्दछ । बडीमालिका जस्ता हजारौंको संख्यामा धार्मिक पर्यटक भित्राउने धार्मिक पर्यटकीय स्थलहरूका लागि स्थानीय, प्रदेश तथा संघीय सरकारका तर्फबाट संयुक्त रुपमा ठोस पहल आवश्यक हुन्छ । त्यस्तै, यी धार्मिक पर्यटकीय स्थलहरूमा निजी क्षेत्रलाई भित्राउन विशेष सुविधा प्रदान गर्नु पनि जरुरी छ । सुदुरपश्चिम प्रदेशको पर्यटन विकासको सन्दर्भमा धार्मिक स्थलहरूको अग्रणी भूमिका रहने भएकाले पनि एकिकृत विकास योजना लागू गर्नेतर्फ पनि मनन आवश्यक भइसकेको छ । बडीमालिका, त्रिपुरासुन्दरी, बैद्यनाथ, सुर्माभवानी, उग्रतारा, मल्लिकाअर्जुन लगायतका धाममा लाग्ने मेला, जात्रालाई अझ बढी व्यवस्थित गर्नुका साथै व्यापक प्रचारप्रसार गर्नेतर्फ पहल गरिनु पर्दछ । मुख्य सवाल भनेको यी धार्मिक स्थलहरूसम्म पुग्नका लागि बाटोघाटोको सहजताका साथै खानेबस्ने, औषधोपचार तथा सुरक्षाको उचित प्रबन्ध नै हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार