११ पुष २०८१, बिहीबार

सम्पादकीय : धनगढीमा बढ्दो सुरक्षा चुनौति



कैलालीको धनगढीमा नक्कली नोट छाप्ने एक गिरोहका केही सदस्य पक्राउ परेका छन । प्रदेशको राजधानी समेत रहेको धनगढीको मुख्य बजारमै घर भाडामा लिएर मेसिन समेत राखेर नक्कली नोट छाप्ने काममा संलग्न गिरोहले अहिलेसम्म कति नोटको कारोबार गर्यो ? भन्ने अनुसन्धानपछि नै स्पष्ट हुने छ । तर, मुख्य बजारमै नक्कली नोट छाप्ने मेसिन समेत राखेर संगठित रुपमा कारोबार गर्ने काम भइरहेको घटनाले राज्यको सुरक्षा प्रबन्धप्रति केही गम्भीर सवाल खडा गरेको छ । धनगढीमा नक्कली नोट छाप्ने गरेको घटना पहिलो हो । प्रहरीले दुइजना भारतीय र पांच जना नेपालीलाई नक्कली नोटको कारोबार गरेको अभियोगमा पक्राउ गरेर मुद्दा चलाईसकेको छ । नक्कली नोट छापेर बजारमा कारोबार गर्ने क्रममा व्यवसायीले दिएको सुचनाका आधारमा प्रहरीले छानबिन गर्दै जादा नक्कली नोट छाप्ने मेसिन तथा अन्य सामग्री सहित गिरोहका सात जना सदस्यलाई पक्राउ गरेको जनाएको छ । धनगढीमा नक्कली नोटको कारोबार भएको यो घटनापछि नगरमा अपराधिक गतिविधि नियन्त्रणका लागि थप प्रभावकारी ढंगले काम गर्नुपर्ने चुनौति थपिएको मान्नु पर्दछ ।
त्यसै पनि धनगढी लगायत कैलालीका केही बजार क्षेत्रमा विभिन्न किसिमका अपराधिक, अवांछित गतिविधि बढिरहेको विभिन्न घटनाले देखाइरहेका छन । भारतसंगको खुला सिमानाका कारण लागु पदार्थ, औषधको ओसारपसार तथा बिक्री वितरण देखि साना हतियारको तस्करीका साथै अन्य अपराधिक गतिविधिमा निरन्तर बृद्धि भइरहेको देखिन्छ । त्यस्तै, पछिल्ला वर्षहरुमा धनगढी, अत्तरिया लगायतका जिल्लाका मुख्य बजार क्षेत्रहरुमा बन्यजन्तुका छाला, हाड, यार्सा, बहुमुल्य जडिबुटी, चरेश, ब्राउन सुगर सहितका लागु पदार्थको कारोबारमा निरन्तर बृद्धि आइरहेको पाइन्छ । पछिल्लो पटक भारतका विभिन्न शहरबाट चोरी गरेर नेपाल भित्राएका धेरै घटना सार्वजनिक भइसकेका छन । अहिले संगठित रुपमा नक्कली नोटको छपाई तथा कारोबार गर्ने गिरोह नै सक्रिय रहेको घटनाले प्रदेश राजधानी जस्तो संवेदनशील ठाउको शान्ति सुरक्षालाई नै चुनौति थपिएको छ भन्दा अत्युक्ति हुदैन ।
तीब्र गतिले शहरीकरण भइरहेको धनगढी, अत्तरिया सहितका कैलालीका विभिन्न बजार क्षेत्रमा हुनसक्ने तथा विद्यमान अपराधिक तथा अवांछित गतिविधिको नियन्त्रणका लागि प्रहरी प्रशासनले नयां ढंगबाट सोच्नु आवश्यक भइसकेको छ । यसका लागि सुचना संयन्त्रलाई पुनर्संगठित गर्दै प्रहरी निगरानीलाई प्रभावकारी बनाउनेतर्फ ध्यान दिनु आवश्यक छ । नगरमा कुनै पनि शंकास्पद गतिविधि तथा व्यक्तिमाथि निगरानी बढाउने, बाहिरबाट आउने आगन्तुकको विवरण प्राप्त गर्ने तथा विश्लेषण गर्ने लगायतका काम गरिनु पनि आवश्यक भइसकेको छ । धनगढीको मुख्य बजारमै घर भाडामा लिएर नक्कली नोट छाप्ने तथा कारोबार गर्ने गिरोहको उपस्थितिले धनगढीको मौजुदा सुरक्षा प्रबन्धले अपराधिक तथा अवांछित गतिविधिको नियन्त्रणका लागि पर्याप्त छैन भन्ने विश्लेषण पनि गलत हुदैन । केही दिनअघि विप्लव नेकपाको कार्यकर्ता आफैंले बोकेको बम विस्फोट भएको थियो । यो घटनाले पनि प्रदेश राजधानी समेत रहेको धनगढी आफैंमा कति असुरक्षित छ भन्ने देखाउछ । त्यसैले सुरक्षा प्रबन्ध प्रभावकारी बनाउन तथा अपराधिक गतिविधि नियन्त्रण गर्न अहिलेसम्मको सुरक्षा प्रणाली तथा कार्यशैलीमा समानुकुल परिवर्तन गर्नेतर्फ पनि ध्यान दिनु जरुरी भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार