२३ बैशाख २०८१, आईतवार

भारी वर्षापछि महेन्द्रनगर जलमग्न



धनगढी । सोमबार राती देखि परेको वर्षाका कारण कञ्चनपुर सदरमुमकाम महेन्द्रनगर तथा आसपासका क्षेत्रहरू जलमग्न बनेका छन् । भीमदत्त नगरपालिकाको वडा नम्बर १८, ४ र ६ का विभिन्न वस्तीहरू डुबानमा परेको जनाइएको छ ।


जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार महेन्द्रनगरको पुष्पलालचोक, जानकी टोल, सब्जीमण्डी क्षेत्र र ऐठपुर क्षेत्र डुबानमा परेका छन् । कतिपय घरभित्र समेत पानी पसेको छ । यसैगरि भीमदत्त नगरपालिका वडा नम्बर १० तिलकेनीमा एक दर्जन घरभित्र पानी पसेको छ ।
बजार क्षेत्र जलमग्न भएपछि केहि विद्यालयका परीक्षा पनि स्थगित गरिएको छ । सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा पनि वर्षा भईरहेकाले महाकाली नदीमा समेत बाढी आएको छ ।
मंगलबार बिहानको मापन अनुसार महाकाली नदीमा पानीको वहाव एक लाख १३ हजार क्युसेक पुगेको छ । पानीको वहाव बढेपछि बनबसा पुलमा चार पांग्रे सवारी साधनको आवागमन बन्द गरिएका छ । नदीमा १ लाख क्युसेक पानी नाघ्ने बितिक्कै पुल बन्द हुने गरेको हो ।
उता, पहिरोका कारण अवरुद्ध महाकाली राजमार्ग सञ्चालनमा आएको छ । वर्षाका कारण महाकाली राजमार्ग अन्तर्गत बैतडीको सतँबाझ—गोकुलेश्वर सडकखण्डको डिलाशैनी गाउ“पालिका ६ बांगाबगरमा पहिरो खस्दा मङ्गलवार बिहान ६ बजेदेखि राजमार्ग अवरुद्ध भएको थियो । झन्डै ७ घण्टा पछि राजमार्ग सञ्चालनमा आएको हो ।
डोजरको सहायताले पहिरो पन्छाएपछि राजमार्ग सुचारु भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिए । यसअघि पहिरोका कारण रोकिएका सवारीसाधन आफनो गन्तव्य तर्फ लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार