२२ बैशाख २०८१, शनिबार

सामाजिक विकास मन्त्रालयद्वारा गैससद्वारा सञ्चालित अस्पताललाई उपकरण प्रदान



शेरबहादुर ऐर/धनगढी । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले एउटा गैरसरकारी संस्थामार्फत सञ्चालनमा रहेको अस्पताललाई उपकरण उपलब्ध गराएको छ ।


पोसिवल हेल्थ नामक संस्थाको सहयोगमा सञ्चालनमा रहेको अछामको बयलपाटा अस्पतालका लागि २२ लाख रुपैयाको सिआरएम (हड्डी जोड्ने तथा मिलाउने) उपकरण उपलब्ध गराएको जनाइएको छ ।
बयलपाटा अस्पताल सञ्चालनको जिम्मेवारी लिएको पोसिबल हेल्थले निःशूल्क र गुणस्तरीय स्वास्थ्य उपलब्ध गराउने तथा अस्पताललाई आवश्यक उपकरण र जनशक्तिको व्यवस्था गर्ने प्रतिवद्धता जनाएको छ ।
मन्त्रालयले गैरसरकारी संस्थामार्फत सञ्चालन भएको अस्पताललाई सो उपकरण उपलब्ध गराएकोमा सरकारी स्वास्थ्य निकायका अधिकारीहरूले भने आपत्ति जनाएका छन् । ‘प्रदेशको रेफरल अस्पताल तथा सरकारबाट सञ्चालित अस्पतालहरूमा यो उपकरण छैन’ एक जना स्वास्थ्य अधिकारीले भने– बयलपाटा अस्पतालमा सो उपकरण दिनु नराम्रो हो भन्न खोजेको होइन, तर प्रदेश सरकारले पहिले आफ्ना अस्पतालहरूलाई सुविधासम्पन्न बनाउन ध्यान दिनु पर्दछ ।
“सुदूरपश्चिम प्रदेशमा एक उपक्षेत्रीय, दुई अञ्चल अस्पताल र छ वटा जिल्ला अस्पताल र टीकापुर अस्पताल छन् । यी अस्पतालमा नै आवश्यकता अनुसारका उपकरण छैनन्” उनले भने– यस्तो अवस्थामा प्रदेश सरकारले एउटा गैरसरकारी संस्थामार्फत सञ्चालित अस्पताललाई उपकरण प्रदान गर्नु स्वाभाविक हुदैन ।
सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काका अनुसार सो उपकरणका लागि टीकापुर अस्पतालले माग गरेको थियो ।

दुई करोड बढीको उपकरण सहयोग

सामाजिक विकास मन्त्रालयले गत आर्थिक वर्ष २०७५/७६ मा प्रदेशका विभिन्न अस्पताललाई दुई करोड ८६ लाख २० हजार रुपैयाँ बराबरको उपकरणहरू उपलब्ध गराएको छ ।
मन्त्रालयले डेलिभरी सेट, माइक्रोस्कोप, सिआर डिजिटल एक्सरे, कार्डियक मेसिन लगायतका ३९ वटा उपकरणहरू उपलब्ध गराएको जनाएको छ ।
सामाजिक विकास मन्त्रालयले गत आर्थिक वर्षा प्रदेशको दार्चुला, बझाङ, अछाम, डोटी, गोकुलेश्वर, जोगबुढा सहित छ वटा स्वास्थ्य संस्थामा सिआर डिजिटल एक्सरे मेसिन उपलब्ध गराएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार