१२ श्रावण २०८१, शनिबार

नभएको कामको मूल्यांकन गराउन खोज्दा इञ्जिनियरले गाउँ छोडे



बैतडी। कामै नभएको सडक योजनाको एक करोड रुपियाँको मूल्याङ्कन गर्न गाउँपालिका अध्यक्षबाट दबाब आएपछि बैतडीका एक इञ्जिनियरले गाउँपालिका छोडेको दावी गरेका छन् ।

सिगास गाउँपालिका वडा नम्बर ५ ढुङ्गाडबाट गाउँपालिका केन्द्र गर्जे जोड्ने सडकमा नभएको कामलाई समेत भएको बनाएर बढी मुल्याङ्कन गरेर मेजरमेन्ट बिल बनाउन दबाव आएपछि आफूले गाउँपालिका छोडेर हिडेको इञ्जिनियर महेश बिष्टले बताउनुभयो ।

इञ्जिनियर बिष्टले भन्नुभयो “ त्यहाँ पाँच÷सात किलोमिटर मात्र सडक खनिएको छ । केही ठाउँमा डोजरले माटो मात्र खनेको छ । स्टमेट अनुसार ३५ लाख भन्दा बढी काम भएको छैन । मलाई झण्डै ९२ लाख रुपियाँको मेजरमेन्ट बिल बनाउन गाउँपालिका अध्यक्षले चर्को दबाव दिनुभयो । म कसरी त्यस्तो काम गरौं ? भनेको काम गर्न नसक्ने भए गाउँपालिकाबाट तुरुन्तै गइहाल भनेपछि छोडेर महेन्द्रनगर आएको छु ।”

गाउँपालिका अध्यक्ष हरिसिंह धामीले आफ्नो कोठामा बोलाएर सडकको मेजरमेन्ट बिल बनाउन नसक्ने तँ. तँ.. भन्दै अपमानपूर्ण शैलीमा दबाव दिएपछि गाउँपालिकामा बस्न नसकेर तराइ झरेको इञ्जिनियर बिष्टले बताउनुभयो ।

सिगास गाउँपालिकाको केन्द्र गर्जेसम्म सडक पु¥याउन गत चैत महिनामा गाउँपालिकाले दिपायलबाट सेती नदीमा डोजर तराएर ढुङ्गाड पुर्याएको थियो । बझाङ्को देउराबाट खच्चरमा तेल बोकेको तेलबाट डोजर चलाएर ढुङ्गाडबाट गाउँपालिका केन्द्र गर्जे जान सात किलोमिटर सडक खनिएको छ । सडक निर्माण भएपनि सेती नदीमा पुल नहुँदा गाडी कसरी चल्ने हो भन्ने विषय भने अन्यौलमै छ ।

सडकको न पुछार छ न त टाउको । यस्तो सडकमा बजेट खन्याएर गाउँपालिकाले कस्तो विकास गर्न लागेको हो भन्दै सिगास गाउँपालिकावासी समेत चकित परेका छन् ।

कामै नभएको सडकमा अनुचित दबाव दिएर इञ्जिनियरले गाउँपालिका छोडेको विषयमा सिगास गाउँपालिका अध्यक्ष हरिसिंह धामीलाई बुझ्न खोज्दा उहाँले कुरै नगरेरै फोन स्वीचअफ गर्नुभयो ।

गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार