काँडा नदीले वर्षेनी ज्यान लिंदै
धनगढी । गत असार २२ गते कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ का स्थानीय कमलबहादुर टमट्टाकी सात वर्षीया छोरी यसोदा टमट्टाको काँडा नदी तर्ने क्रममा बगेर मृत्यु भयो । उनीसंगै रहेकी नौ वर्षीया बालिका घाईते भईन् । उनीहरू दुवै कामको शिलशिलामा मुडा बजार जाने क्रममा काँडा नदीमा बगेका थिए ।
अघिल्लो वर्ष पनि काँडा नदी तर्ने क्रममा दुई बालकको बगेर मृत्यु भएको थियो । काँडा नदीमा वर्षेनी वर्षायाममा अकालमा ज्यान गुमाएका घटना दोहोरिरहेका छन् । वर्षेनी काँडा नदीमा बगेर वा डुबेर अकालमा ज्यान गुमाउनुको प्रमुख कारण नदिमा पक्की पुलको अभाव नै भएको स्थानीयको भनाई रहेको छ ।
का“डा नदि र कुईरा नदिले घेरिएको बर्दगोरियाको वडा नम्बर ३ का रानिकुण्डा, खैरेनी र बुटकौवाका बासिन्दाहरूले पुलको अभावमा हरेक वर्षायाममा ज्यान जोखिममा राखेर नदी वारपार गर्नुपर्ने बाध्यता रहेको छ । सामान्य वर्षा हुदा समेत स्थानीयहरू दुवै नदीको बाढीबाट प्रभावित हुने गरेका छन् ।
वर्षायाममा विद्यार्थी, कर्मचारी, ब्यापारी, बिरामी, अशक्त तथा बृद्धबृद्धाहरू बढी समस्यामा पर्ने गरेका छन । जोखिम मोलेरै नदि पार गर्दा बगेर ज्यान जान सक्ने खतरा एकातिर छ भने अर्कोतिर नदी पार गर्न नसक्दा बिरामीले समयमा उपचार पाउन नसक्ने अवस्था रहेको छ ।
दैनिक उपभोग्य सामान खरिदका लागि मुडा बजार तथा बौनिया बजार गएका स्थानीय नदिमा पुल नहुदा समस्यामा पर्ने गरेको वडा नम्बर ३ का वडा सदस्य टंक ओलीले बताए । उनले भने– दिनभरी बजार तथा कार्यालयमा काम गरेर साझ घर फर्किने क्रममा नदीमा बाढी आएमा उतै बास बस्नु पर्ने बाध्यता छ ।
स्थानीय विकास मन्त्रालय अन्तर्गत झोलुंगे पुल महाशाखाले यो वडा जोड्ने दुई वटा झोलुंगे पुलको सर्भे गरेको बताइन्छ ।
पुलको सर्वे तथा डिपिआर गर्ने जिम्मा पाएको ईन्जिनियरिङ एण्ड एजुकेसन सर्विसेज, काठमाडौंका संचालक राजिव बरालले सम्झौता अवधि आगामी भदौ महिनासम्म रहेको बताए । उनले डिपिआर निर्माणको काम भईरहेको तथा आफुले निर्माणको जिम्मेवारी लिएको १९ वटा झोलुङ्गे पुलको डिपिआर निर्माण काम एकै साथ पुरा गरि कार्यालयमा पेश गर्नु पर्ने भएकाले केही ढिलाई भएको बताए ।
झोलुंगे पुल महाशाखा ललितपुरका प्रमुख कुमार थापाले अति आवश्यक ठाउ“का लागि सम्बन्धीत क्षेत्रबाट बढी समन्वय हुनु पर्ने बताए । उनले यस क्षेत्रको पुलको डिपिआरको काम पुरा भए लगत्तै पहिलो प्राथमिकतामा राखेर काम अघि बढाउने बताए ।
सेती लोकमार्गको वातावरणीय प्रभाव मुल्यांकनको रिपोर्ट आईसकेकाले मन्त्रालयमा छलफल भई चाडै काम शुरु हुने कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) का प्रदेश सभा सदस्य नन्दबहादुर साउदले बताए ।
त्यस्तै, संघिय सांसद झपटबहादुर रावलले आफ्नो निर्वाचन क्षेत्रका अधिकांस झोलुङ्गे पुलहरूको सम्झौता भईसकेकाले निर्माणको काम शुरु हुने तथा सम्झौता नभएका पुलहरूको चाडै सम्झौता गरी काम अघि बढाईने बताए ।