११ श्रावण २०८१, शुक्रबार

बाजुरामा पहिरोको जोखिम बढ्दै



बाजुरा । अविरल वर्षासंगै बाजुराका दर्जनौ गाउँवस्ती पहिरोको उच्च जोखिममा परेका छन् । भारी वर्षापछि धेरै ठाउँमा पहिरो गएका कारण कतिपय सडक यातायातमा समेत समस्या भइरहेको छ ।


जिल्लाको मार्तडी–साँफे सडकको मार्तडीदेखि बार्जुगाडसम्मको सडकखण्डका दर्जन बढी ठाउँमा पहिरो गएको छ ।
पहिरोको कारण त्रिवेणी नगरपालिका वडा नम्बर ९, पैमाका एक सय ७५ घरपरिवार उच्च जोखिममा रहेका छन् । त्यसैगरि पहिरोका कारण बुढीगंगा नगरपालिका वडा नम्बर ४, कोल्डाँडाका २० घरपरिवार पहिरोको उच्च जोखिममा परेका छन् ।
बुढीगंगा नगरपालिका वडा नम्बर ७ का मीनबहादुर कटुवालले भने– गाउँको तलबाट बार्जुगाडले कटान गरिरहेको छ । त्यसैमा पहिरो गएकै ठाउँमा फेरि डोजर लगाएर सडक खन्न थालेपछि कोल्डाँडाका २० घरपरिवार पहिरोको उच्च जोखिममा परेका छन् ।
गत वर्षमा बुढीगंगा नगरपालिका वडा नम्बर १, कुँडीमा एक महिला र ताप्रामा पहिरोका कारण एक जना बालकको मृत्यु भएको थियो । पहिरोबाट दर्जनौ पशुचौपाया पनि मरेका थिए ।
पहिरोको उच्च जोखिमका कारण कोल्टी पिलीचौरका २२ घरपरिवार पालमुनी बस्न बाध्य भएका थिए । अहिले पनि पहिरोका कारण जिल्लाका सयौं घरपरिवार त्रिपाल हालेर बसेका छन् ।
जिल्लाका गौमुल, स्वामिकार्तिक र हिमाली तथा पाण्डुगुफा गाउपालिकाका दर्जनौ वस्ती पहिरोको जोखिममा रहेको स्थानीयले बताएका छन् । त्यस्तै, खप्तडछेडेदह गाउँपालिकाका नाईना, सुदारा, पाटा, डोगडी, जयवाग्यश्वरी, काँडाका केही बस्ती पनि पहिरोको जोखिममा रहेका छन् ।
त्यसैगरी त्रिवेणी नगरपालिकाको तोली र छतारा बुढीगंगा नगरपालिकाको कुँडी, अम्कोट, मुस्तोला, बजेडी, निम्नी गैरी, खोलालवाडा र बाम्का बजार पनि पहिरोको जोखिममा छन् ।
त्रिवेणी नगरपालिकाकै पैमा र बुुढिगंगा नगरपालिका वडा नम्बर १ अम्कोटमा ठूलो पहिरो लागेको छ । पहिरोको कारण अम्कोट र बल्दे पैमा गाउबासी त्रसित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार