१० श्रावण २०८१, बिहीबार

हरैया घटनाको ध्यानाकषर्ण



धनगढी । सुदूरपश्चिम प्रदेश सभाको सोमबारको बैठकको विशेष समयमा सांसद्हरुले हरैयामा सुकुम्बासीको टहरा भत्काएर लखेटेको विषयलाई उठान गरेका छन् ।

पूर्व सामाजिक विकास मन्त्री तथा प्रदेश सभा क्षेत्र नं. ४ (१) का सांसद् दीर्घबहादुर सोडारीले आफ्नो सम्पत्तिको संरक्षण गर्न पाउने अधिकार नागरिकमा भएपनि सुकुम्बासीलाई जबरजस्ती लखेट्न नपाइने बताए । उनले राज्यको संयन्त्र मार्फत् सुकुम्बासीलाई व्यवस्थित गर्ने बाटो हुँदा हुँदै पनि ऐलानी जमिनबाट समेत सुकुम्बासीलाई लखेट्नु निन्दनीय रहेको बताए ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद् सोडारीले संघीय संसद्मा रहेको भूमि व्यवस्था सम्बन्धी विधेयक समेत त्रुटीपूर्ण रहेको भन्दै सच्याउन पहल गर्नुपर्ने बताए । उनले पाँच प्रतिशत रकम भुक्तान गरी डेढ विघासम्म ऐलानी जमीन नाप नक्सांकन गर्न सक्ने व्यवस्था नगरिए गुठी विधेयक जस्तै भूमि व्यवस्था सम्बन्धी विधेयक विरुद्ध आन्दोलन हुने तर्फ सचेत रहनुपर्ने बताए । उनले कैलाली कञ्चनपुरमा समेत आधा भन्दा बढि जनसंख्या ऐलानीमा बसोबास गरिरहेको बताए ।
पूर्वमन्त्री सोडारीले प्रदेशमा असुरक्षा बढ्दै गएको विषयमा प्रदेश सरकारको ध्यानाकर्षण गराउँदै मुलुकमा कानुनी शासन कायम गर्न माग गरे । उनले धनगढीको सहिद गेटमा विप्लब पार्टीका कार्यकर्ताले बोकेको बम विस्फोटको घटना लगायतका घटनाले गर्दा शान्ति सुरक्षा कमजोर भएको बताए ।
नेकपाकै सांसद् पूर्णा जोशीले समेत हरैया घटना रोक्न प्रदेश सभा मार्फत् प्रहरी प्रशासनको ध्यानाकर्षण गराइन् । उनले वर्खाको बेलामा सुकुम्बासीलाई एउटा समूह नै लागेर लखेट्न र घर टहरा भत्काइदिने काम निन्दनीय भएको बताइन् ।
धनगढीमा विना सूचना भइरहेको विद्युत कटौतीबारे सरकारको ध्यानाकर्षण गराउँदै उनले विद्युत कटौतीको सूचना दिन माग गरिन् । उनले ड्युटीमा खटिएका प्रहरीको ध्यान शान्ति सुरक्षामा नभएर मोबाइल चलाउनेमा रहेकाले सहिद गेटमा भएको विस्फोटका घटनाहरु हुन थालेको बताइन् । उनले डोजर आतंक रोक्न र बाढी पहिरोको हुन सक्ने खतराको समाधान लाग्न समेत सरकारको ध्यानाकर्षण गराइन् । उनले धनगढीमा हुने सडक दुर्घटना नियन्त्रण गर्न जेब्राक्रसिङको व्यवस्था गर्न आग्रह गरिन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार