१० श्रावण २०८१, बिहीबार

धनगढी विस्फोट : सरकारलाई दोष देखाउँदै विप्लव समूहले लियो घटनाको जिम्मेवारी



धनगढी ।नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले कैलालीको धनगढीमा बिहीबार भएको घटनाको जिम्मा लिएको छ। 

सेती-महाकाली ब्युरो इन्चार्ज निर्माणले विज्ञप्तिमार्फत बम विस्फोटको जिम्मा लिएका हुन्।

घटनामा परी घाइते भएका ५ जनामध्ये बझाङका रामबहादुर सिंहको मृत्यु भएको छ। उनी नेकपाकै कार्यकर्ता हुन्। 

घाइतेहरुको उपचार खर्च पार्टीले बेहोर्ने प्रतिबद्धता जनाइएको छ। घटनामा परी सर्वसाधारण नागरिकहरुमा पर्न गएको असहजताप्रति उक्त पार्टीले दुःख व्यक्त गरेको छ। विस्फोटको जिम्मा लिएको नेकपाले घटनाको परिणामको जिम्मा वर्तमान सरकार भएको उल्लेख गरेको छ।

सो पार्टीले आत्मसुरक्षाका लागि बोकेको विस्फोटक पदार्थ पड्किएको पनि जनाएको छ।

धनगढीको सहिद गेट नजिकै रहेको निलम होटलमा बिहीबार साँझ बम विस्फोट भएको थियो। विस्फोटमा परी घाइते भएका होटलका सञ्चालक केशवराज पाण्डेय, कञ्चनपुर बेल्डाँडीका लक्ष्मण सेरेला, धनगढीका जितेन्द्र यादव र ठेगाना नखुलेका मोबिन खानको उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार