१० श्रावण २०८१, बिहीबार

चिकित्सकमाथि आक्रमण घटनाः अस्पतालमा चिकित्सक फर्किने बारे अझैं अन्योल



धनगढी । डडेल्धुरा अस्पतालमा कार्यरत चिकित्सकहरू काममा फर्किने वा नफर्किने बारे अझै अन्योल रहेको छ ।
अस्पतालका डाक्टर नवराज जोशी सहित १० जना चिकित्सकहरू असुरक्षा बढेको भन्दै शुक्रबारदेखि काम छोडेर धनगढी आएका छन् । ‘चिकित्सकमाथि हातपात गर्ने कार्यमा संलग्न एक जना पक्राउ परेको र अन्यको खोजी कार्य भइरहेको भन्ने सुनेको छु’ आइतबार अनुमोदन दैनिकसंगको कुराकानीमा डाक्टर जोशीले भने– साच्चै पक्राउ परेको हो भने हामी पुनः काममा फर्किन्छौं ।
यसअघि आइतबार नै चिकित्सकहरूले धनगढीमा पत्रकार सम्मेलन गरेर सुरक्षाको बलियो प्रत्याभूति भएमात्र काममा फर्किने बताएका थिए । चिकित्सकहरूले डडेल्धुरामा आफुहरूलाई काम गर्ने वातावरण नभएको गुनासो गरेका थिए । ‘अस्पतालमा पटक–पटक बिना कारण चिकित्सकमाथि आक्रमण भइरहेको छ’ डाक्टर जोशीले भने– यस्तो अवस्थामा कसरी काममा फर्किने ?
असार २५ गते पोस्टमार्टमको विषयमा चिकित्समाथि आक्रमण भएको थियो । अमरगढी नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष सूर्यप्रकाश खड्काको नेतृत्वमा रहेको भीडले शवको पोष्टमार्टम गरिरहेका चिकित्सकमाथि आक्रमण गरेको थियो ।
‘विरामीको उपचार गर्दा पनि चिकित्सकमाथि आक्रमण हुन्छ । मरेको मान्छेको पोष्टमार्टम गर्दा पनि चिकित्सकमाथि आक्रमण हुन लाग्यो’ डाक्टर जोशीले भने– प्रहरीको रिपोर्ट आएपछि नै चिकित्सकहरूले पोस्टमार्टम गर्ने हो । तर, पोस्टमार्टम गर्ने क्रममा बाहिरबाट हुलदंगा गरेर भित्र आए । त्यसपछि पोस्टमार्टमा संलग्न चिकित्सक काम छोडेर बाहिरिन बाध्य भएका हुन् ।
आक्रमण गर्नेलाई कारवाही नहुञ्जेल नियमित काममा नफर्कने पोस्टमार्टमा संलग्न डाक्टर दिनेश उपाध्यायले बताए । ‘असार २५ गते चिकित्सकमाथि आक्रमण भयो । डाक्टरहरूले आक्रमण गर्नेमाथि कारबाहीको माग गर्दा पनि कुनै कतैबाट सुनुवाइ भएन’ उनले भने ।
त्यस्तै, नेपाल चिकित्सक संघ सुदूरपश्चिम संयोजक डाक्टर प्रमोद जोशीले कार्यकक्षमै चिकित्सकमाथि आक्रमण हुँदा पनि स्थानीय प्रशासन कुनै पनि कारबाही अघि नबढाउनु आपत्तिजनक भएको बताए । ‘चार दिन वितिसक्दा पनि चिकित्सकमाथि आक्रमण गर्नेको सुनुवाई भएको छैन’ उनले भने– दोषीलाई २४ घण्टाभित्र कानूनी दायराभित्र नल्याए आन्दोलनमा जान बाध्य हुने छौं ।
आईतबार नै नेपाल चिकित्सक संघ प्रदेश अध्यक्ष डाक्टर जोशीको नेतृत्वमा चिकित्सकहरूको सुरक्षाको माग गर्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापनपत्र बुझाइएको जनाइएको छ ।
सो अवसरमा मुख्यमन्त्री भट्टले चिकित्सकमाथि आक्रमण गर्ने दोषीलाई कारबाहीको दायरामा ल्याउन प्रदेश सरकारले पहल गरिरहेको जानकारी दिएका थिए । मुख्यमन्त्री भट्टले चिकित्सकहरूलाई भने– तपाईहरू ढुक्कसंग काममा फर्कनुहोस् । आगामी दिनमा यस्ता घटना दोहोरिने छैनन् ।
डडेल्धुरा अस्पतालमा मेडिकल सुरपरिटेण्डेण्ट जितेन्द्र कँडेलबाहेक बाकी सबै चिकित्सकहरू अस्पताल छोडेर धनगढी आएपछि सेवा प्रभावित भएको छ । अस्पतालमा उपचार सेवा बन्द हुँदा विरामीहरूलाई सास्ती भएको छ । डडेल्धुरामा उपचार बन्द भएपछि धनगढीका अस्पतालमा भने विरामीको चाप बढेको जनाइएको छ ।
आक्रमण गरेको आरोपमा एक जना पक्राउ
डडेलधुरा अस्पतालमा ड्युटीमा खटिएका चिकित्सकमाथि आक्रमण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले चिकित्सकहरूको उजुरीका आधारमा एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताइए पनि नाम भने गोप्य राखिएको छ ।
गत बुधबार दिउसो डडेल्धुरा अस्पतालमा शव परीक्षण गरिरहेका चिकित्सकलाई ढिलो गरेको भन्दै हातपात गरिएको थियो । आक्रमणपछि चिकित्सकले एक विज्ञप्ति जारी गर्दै सुरक्षाका कारण देखाउँदै दोषीमाथि कारबाही नहुँदासम्म नियमित सेवामा फर्कन नसक्ने जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराएर बुधबारबाट आकस्मिक बाहेकका सेवा बन्द गरेका छन् ।
चिकित्सकहरूका अनुसार अमरगढी नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष सूर्यप्रकाश खड्काको नेतृत्वमा आएको भीडले शव परीक्षण गरिरहेका चिकित्सकमाथि आक्रमण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार