१० श्रावण २०८१, बिहीबार

प्रदेशमा वित्तीय साक्षरता अभियान सञ्चालन गरिदै



धनगढी । सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रदेशमा वित्तीय साक्षरता अभियान सञ्चालन गर्ने भएको छ ।
मन्त्रालयले आगामी आर्थिक वर्षमा सो अभियान सञ्चालन गर्ने जनाएको छ ।

प्रदेशमा वित्तीय साक्षरता अभियान सञ्चालनका लागि मन्त्रालयले प्रकाशन गरेको वित्तीय साक्षरता सम्बन्धी हाते पुस्तिका शनिबार धनगढीमा सार्वजनिक गरेको छ ।
सो अवसरमा आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले वित्तीय साक्षरताको माध्यमबाट प्रदेशले आर्थिक समृद्धि हासिल गर्ने बताए । मन्त्री बोहराले वित्तीय साक्षरताका साथ साथै डिजिटल बैंकिङ प्रणालीलाई जोड दिइएको बताए ।
वित्तीय साक्षरता मार्फत् बैंकिङ प्रणालीलाई जोड दिंदा करको दायरा बढ्नुका साथै सेवा प्रबाह र आर्थिक विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको अर्थमन्त्री बोहराले बताए । उनले डिजिटल बैंकिङ सेवाले गर्दा करदाताको संख्यामा बृद्धि हुने बताए । बैंकिङ कारोबारले भ्रष्टाचार न्युनिकरणका साथै सम्पत्ति सुद्धिकरण समेत सहयोग पुग्ने दावी गरे ।
मन्त्री बोहराका अनुसार प्रदेशका प्रत्येक परिवारमा वित्तीय साक्षरता सम्बन्धी हाते पुस्तक पु¥याइने छ । उनले प्रत्येक स्थानीय तह र वडाहरूमा वित्तीय साक्षरता अभियान चलाइने बताए । मन्त्रालयले प्रत्येक नागरिकको बैंकमा पहुच बढाउने, प्रदेशबासी सबैलाई आयआर्जनमा सहभागी गराउने, बचत र विमा सम्बन्धी सचेतना जगाउने जस्ता क्रियाकलाप वित्तीय साक्षरता अभियान अघि बढाइने छ ।
आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव गोपालप्रसाद अर्यालले पुस्तिकामा सबै वित्तीय क्षेत्रलाई समावेश गरिएको बताए । उनले वित्तीय साक्षरता, आयआर्जन, विमा, बचत, खर्चको तरिका, बैंकिङ कारोबार, सहकारी र लघुवित्त संस्था लगायतका विषयलाई समेतेर पुस्तिकामा समावेश गरिएको बताए ।
सुदूरपश्चिमको ८८ वटा स्थानीय तह मध्ये ६ वटा स्थानीय तहमा मात्रै बैंकहरूको शाखा विस्तार गर्न बाँकी रहेको बताउँदै आर्थिक मामिला मन्त्री बोहराले बाँकी रहेका स्थानीय तहमा समेत बैंकका शाखा विस्तार गर्न पहल भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार