१० श्रावण २०८१, बिहीबार

बाजुराका ९५ बस्ती बाढी पहिरोको उच्च जोखिममा



प्रकाश सिंह/बाजुरा । बर्षासँगै बाजुरा जिल्लाका नौ स्थानीय तहका ९५ बस्ती उच्च जोखिममा परेका छन् । जिल्ला दैवीप्रकोप उद्धार समितिले विपत् जोखिममा परेका बस्तीहरुको सूची सार्वजनिक गरेको हो ।

समितिले जोखिममा परेका वस्तीको उद्धारको पहल गर्दै सो सूचि गृह मन्त्रालयमा पठाउने निर्णय समेत गरेको छ । जोखिममा परेका ९५ बस्तीमध्ये सबैभन्दा बढी जोखिममा रहेको त्रिवेणी नगरपालिका र दोस्रोमा बडिमालिका नगरपालिका रहेको समितिले जनाएको छ ।
लगातारको बर्षाले बाजुरा जिल्लाको जनजीवन अस्तब्यस्त बनेको छ । कैयौं बस्ती पहिरोको जोखिममा परेका छन्, भने केही गाँउनै बिस्थापित भएका छन् । भिरालो र पाखो जमिनका बस्तीहरुमा पहिरोको जोखिम बढेको छ ।
पहिरोको जोखिममा परेका वस्तीमा त्रसित बनेको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ । वर्षाले ठाउँ ठाउँमा पहिरो गएको र घर माथिबाट पहिरो बग्ने र घर भत्किने क्रम बढेपछि सर्वसाधारण त्रसित बनेका हुन् ।
पहिरोको उच्च जोखिममा रहेका परिवारलाई सचेत भएर बस्न र सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यलय बाजुराले सार्वजनिक सुचना जारी गरेको छ । मुसलधारे वर्षाका कारण हुन सक्ने क्षतिलाई मध्येनजर गरी सबैले आआफ्नो क्षेत्रबाट सुरक्षाका लागि तयारी अवस्थामा बस्नु पर्ने सुझाव दिएको छ । बाजुरा जिल्ला नै पहिरोको उच्च जोखिममा रहेको जिल्लाका रुपमा प्रमुख जिल्ला अधिकारी गंगा प्रसाद न्याउपानेले वताए ।
लगातारको बर्षाले बुढिगंगा नगरपालिका र त्रिबेणी नगरपालिका बिचमा रहेको द्ववारीमा बुढीगंगा नदी बर्षासँगै थुनिदै गएको छ । बर्षासँगै बुढीगंगा ननीमा पानीको बहाब बढ्दै गएको र त्रिबेणी नगरपालिका ९ पैमा गाँउ तलबाट पहिरा झर्न शुरु भएपछि नदी थुनिदै गएको त्रिबेणी नगरपालिका नगर प्रमुख रामसिंह रावलले वताए ।


गएको बर्षदेखि उक्क्त ठाँउमा पहिरो बग्न थालेको हो । हिउँदको समयमा पनि पहिरो बगेपनि खासै असर थिएन । लगातार पहिरो बढदै गएपछि र ठुला ढुङ्गा बिचमा आएर अडकिएपछि जतिबेला पनि नदी थुनिन सक्ने खतरा रहेको त्रिबेणी नगरपालिकाले वताएको छ । नदी थुनिने जोखिम बढेपछि स्थानीयलाई सचेत गराइएको प्रमख जिल्ला अधिकारी गगांप्रशाद न्यौपानेले वताएका छन् ।
बर्षाले बाजुराका स्थानीय सडकहरु समेत बन्द भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार