११ श्रावण २०८१, शुक्रबार

प्रतिपक्ष सहभागी नभएपछि प्रदेश सभा बैठक पाँचौ पटक स्थगित



धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७६/०७७ को बजेटप्रति तीब्र असहमती व्यक्त गर्दै प्रदेश सभामा प्रतिपक्षीहरू उपस्थित नभएपछि प्रदेश सभाको बैठक पाँचौ पटक पनि स्थगित भएको छ ।

असार १ गते प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ को वार्षिक बजेट पेस गरे पनि प्रदेश सभामा प्रमुख प्रतिपक्षी नेपाली का“ग्रेस तथा प्रतिपक्षी दल राष्ट्रिय जनता पार्टी (राजपा) ले चर्को विरोध गर्दै प्रदेश सभा बैठक चल्न नदिएपछि अहिलेसम्म बजेटमाथिको सुामान्य छलफल समेत शुरु हुनसकेको छैन ।
बजेटमाथि छलफलका लागि आव्हान गरिएको सुदूरपश्चिम प्रदेश सभाको आइतबारको बैठक पनि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र प्रतिपक्षी राष्ट्रिय जनता पार्टी (राजपा) ले बहिस्कार गरे । प्रदेश सभाको बैठक प्रारम्भ हुनासाथ सभामुख अर्जुनबहादुर थापाले प्रतिपक्षीको उपस्थिति नभएकाले बैठकको कारबाही अगाडि नबढाएर स्थगित भएको घोषना गरे । प्रदेश सरकारको बजेटमाथि छलफल गर्न आव्हान गरिएको प्रदेश सभाको बैठक लगातार पाँचौ पटक स्थगित भएको हो ।
प्रदेश सभाको शुक्रबारको बैठकमा प्रतिपक्षी सांसद्हरुले नारावाजी गरेपछि स्थगित गरिएको थियो । यसअघि, प्रतिपक्षीको विरोधका कारण असार ८ र ११ गतेको दुई वटा बैठक सूचना टाँसेर स्थगित गरिएको थियो भने असार ५ गते बजेट माथि छलफल गर्न पहिलो पटक आव्हान गरिएको बैठक शुरु हुनासाथ प्रतिपक्षी सांसद्हरुले नाराबाजी गर्दै बाहिरिएपछि स्थगित भएको थियो । असार ५ गतेको बैठक बहिस्कार गरेका प्रतिपक्षी सांसद्हरुले सो दिन रातो किताव समेत जलाएका थिए ।
आइतबारको समेत नचल्ने भएपछि सभामुख थापाले प्रदेश सभाको अर्को बैठक असार १७ गतेका लागि तोकेका छन् । कांग्रेस संसदीय दलका सचेतक टेकबहादुर रैकाले विरोधको शैली फेरेको बताए । बजेट संशोधन गर्न माग गरिरहेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाका सांसदहरुसित प्रदेश सरकारले छलफल गरिरहेको भए पनि सरकार गम्भीर ढंगले छलफल नगरेको प्रतिपक्षी दलको आरोप छ ।
प्रतिपक्षी दलहरुले संयुक्त रुपमा पत्रकार सम्मेलन गरी प्रदेश सरकारले बजेट शंसोधन नगरेसम्म संसद् चल्न नदिने धारण यसअघि नै सार्वजनिक गरेका छन् ।
आइतबार बिहान पनि मुख्यमन्त्री त्रिचोलन भट्टको संयोजनका सरकारका मन्त्रीहरुले प्रतिपक्षी सासंदहरुसित छलफल गरेका थिए । दुबै दलका नेताहरुवीच छलफल भएपछि थप छलफल गरी निष्कर्षमा पुगेपछि सदन सञ्चालन गर्ने अनौपचारिक सहमति भएको बुझिएको छ ।

आइतबारकको बैठक स्थगित गर्ने र अर्को बैठकमा अवरोध नहुने गरी प्रतिपक्षीसित सहमति गर्ने बिषयमा पनि छलफल भएको र मुख्यमन्त्रीले सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका प्रमुख सचेतक तारा लामा तामाङलाई सभामुखसित समन्वय गरेर आइतबारका लागि सदन स्थगित गर्न भने पनि सभामुख थापा समक्ष यो सन्देश नपुगेका कारण सदन शुरु भएर स्थगित भएको नेकपाका एक सासंदले जनाए ।
सदनमा उपस्थित नभएर विरोध गर्ने शैलीमा फरकपन ल्याएको बताएका प्रतिपक्षी सासंद रैकाले असार १७ गतेको बैठक अगाडि नै सरकार प्रतिपक्षीसित सहमतिमा आउने विश्वास लिएको बताए । उनले आइतबारको बैठक स्थगित गर्ने विषयमा मुख्यमन्त्रीसित अनौपचारिक सहमति भएका कारण पनि आफुहरु सदनमा नगएको बताए ।
सत्तारुढ दल नेकपा प्रममुख सचेतक तामाङले पार्टीको संसदीय दलले सरकारलाई प्रतिपक्षीहरुसित छलफल गर्न सुझाव दिएको र सो अनुसार छलफल भइरहेको जनाए । उनले समेत असार १७ गतेको बैठकसम्ममा प्रतिपक्षीहरु सहमतिमा आउन सक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार