३ जेष्ठ २०८१, बिहीबार

एनआईसी एशिया र एभरेष्ट बैंकका ग्राहकले सीपी अस्पतामा छुट पाउने



धनगढी । एनआईसी एशिया बैंक र एभरेष्ट बैंकका ग्राहकले धनगढीको सीपी अस्पतालमा छुट पाउने भएका छन् ।

एनआईसी एशिया बैंक र एभरेष्ट बैंकले बिहिबार सीपी हस्पिटल प्रालिसंग गरेको छुट्टाछुट्टै सम्झौता अनुसार एनआईसी एशिया बैंकका ग्राहकलाई २० र एभरेष्ट बैंकका ग्राहकलाई १० प्रतिशत छुट सीपी अस्पतालले दिने भएको हो ।
एनआईसी एशिया बैंक धनगढीका प्रबन्धक खेमराज भट्टका अनुसार एनआईसी बैंकका कर्मचारी, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गलाई सीपी अस्पिटलले उपचार गराउँदा विभिन्न सेवाहरुमा २०% सम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका प्रादेशिक कार्यालयका प्रमुख टेकराज भट्ट र सीपी हस्पिटलको तर्फबाट हस्पिटलका प्रशासन निर्देशक विकास मौनीले हस्ताक्षर गरेका छन् ।
यसैगरी एभरेष्ट बैंक र सीपी हस्पिटलबीच भएको सम्झौता अनुसार एभरेष्टका ग्राहकहरुले बेड चार्ज, डाइग्नोस्टिक (इन हाउस), सर्जरी, प्रोसीड्यूर र फार्मेसीमा १० प्रतिशत छुट पाउने छन् । साझेदारी अनुसार एभरेष्ट बैंकका ग्राहकहरुले एटिएम कार्ड वा क्रेडिट कार्ड देखाएर छुट सुविधा लिन सक्ने एभरेष्ट बैंकले जनाएको छ ।
१६ लाख ग्राहक रहेको एनआईसी एशिया बैंकका मुलुकभर दुई सय ८४ शाखा कार्यालयहरु, दुई सय ९४ एटिएम, ४६ वटा एक्सटेन्सन काउन्टर र ३५ वटा शाखारहित बैंकिङ ईकाई छन् ।
१० लाख ग्राहक रहेको एभरेष्ट बैंक बेस्ट रेटेड कमर्सियल बैंकमा पर्न सफल भएको छ भने एभरेष्ट बैंकका ९४ वटा शाखाहरु, २८ राजस्व संकलन काउन्टर र एक सय १९ एटिएम सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार