११ श्रावण २०८१, शुक्रबार

भीमदत्तमा नीति कार्यक्रम र बजेट एक अर्ब २२ करोड ८२ लाख



महेन्द्रनगर । भीमदत्त नगरपालिकाले आगामी वर्ष २०७६/०७७ का लागि पाँचौ नगर सभाबाट पारित नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेकाे छ ।

भीनपा कार्यालयमा पत्रकार सम्मेलन गरी नगरपालिकाका प्रवक्ता राजेन्द्र पाण्डेयले नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका हुन् । असार ९ गते पाँचौ नगर सभाबाट आगामी वर्षको नीति कार्यक्रम सहित एक अर्ब २२ करोड ८२ लाखको बजेट सर्वसम्मत पारित गरिएको थियो । पत्रकार सम्मेलनमा नगर प्रवक्ता पाण्डेयले समृद्ध नगर बनाउने लक्ष्यका साथ पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रलाई प्राथमिकता दिएर बजेट ल्याइएको बताए ।

‘नगरको समग्र विकास गर्ने लक्ष्यका साथ नीति, कार्यक्रम र बजेट आएको छ, यसमा पूर्वाधार विकास र जनजीविकासंग सम्बन्धित कार्यक्रमलाई प्राथमिकता दिएका छौ’ उनले भने,‘यसले नगरको समृद्धि र विकासमा टेवा पुग्ने आश गरिएको छ ।’ महेन्द्रनगरलाई नमूना सहरका रुपमा विकास गर्न कार्य सुरु गर्ने, नगरपालिकाको २५ वर्षे दीर्घकालिन योजना निर्माण, कर संकलन अभियान सञ्चानन गरिने, क्लिन सिटी ग्रिन सिटी अभियान सञ्चालन, भीमदत्त रोजगार कार्यक्रम सञ्चालन, एक वडा एक खेल मैदान निर्माण, महिला उद्यमी तयार, एक वडा एक चिल्ड्रेन पार्क निर्माण लगायतका कार्यक्रम समावेश गरिएका छन् ।

यसैगरी कक्षा ९ देखि प्राविधिक र व्यवसायिक शिक्षाको पठनपाठन, धार्मिक तथा पर्यटकीय क्षेत्रको सञ्जालीकरण गरी प्रचारप्रसार र सहकारी तथा विद्यालयहरुलाई एक आपशमा मर्जको नीति लिइएको छ । नगरपालिकाले आ.व. वर्षका लागि एक वडा एक उत्पादन पकेट सम्भाव्यता अध्ययन गरी साझेदारीमा कार्यक्रम सञ्चालन, भीमदत्त पन्त किसान पुरस्कार स्थापना, कृषि मेला आयोजना, हाट बजार, संकलन केन्द्र र पशु बधशाला सञ्चालन गरिने कार्यक्रम ल्याएको छ । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गरी पाँचौ नगर सभाबाट धार्मिक पर्यटकीय स्थलहरुको सञ्जालीकरण गरी पर्यटन प्रवद्र्धनका लागि प्रचार प्रसार गरिने नीति र कार्यक्रम पारित गरिएको छ । पर्यटन प्रवद्र्धनका लागि साँस्कृतिक महोत्सव, फुड महोत्सव, होमस्टे सञ्चालन, भ्यू टावर निर्माण थालनी र भीम वाटिका स्तरोन्नति गरिने कार्यक्रम समावेश गरिएका छ ।

ब्रह्मदेबका धार्मिक साँस्कृतिक सम्पदाहरुको संरक्षण गरी महाकाली नदीमा साहसिक जलयात्रा(¥याफ्टिङ्ग) सञ्चालनको सम्भाव्यता अध्ययनका लागि प्रदेश र संघ सरकारसंग पहल गरिने भएको छ । गत पुसमा पहिलो पटक महाकाली नदीमा पहिलो पटक ¥याफिटङ्गको परीक्षण गरिएको थियो । नगरपालिकाले दैनिक उपभोग्य, कृषि, वन, मत्स्य र पशुजन्य उत्पादन र कारोबार गर्ने सहकारीलाई प्रोत्साहन गर्ने नीति लिइएको छ । नगरपालिको उत्पादन र रोजगारी सृजना गर्ने सहकारीलाई संस्थागत र पूर्वाधार निर्माणमा सहयोग गर्ने भएको छ । माध्यमिक तहसम्म अंग्रेजी भाषामा पठनपाठन गराउने विद्यालयलाई प्रोत्साहन गर्ने नीति लिएको नगरपालिकाका सबै विद्यालयमा स्थानीय पाठ्यक्रमका रुपमा योग पाठ्यक्रम लागू गरिने भएको छ । यसका लागि गत वर्षदेखि पाठ्क्रम निर्माण कार्य सुरु गरिएको थियो । एक वडा एक नमूना विद्यालय, भीमदत्त छात्रबृत्ति कोष स्थापना, साक्षर नगर घोषणा, माध्यमिक तह परीक्षामा उत्कृष्ठ विद्यार्थीलाई पुरस्कार वितरण लगायत पूर्वाधार निर्माण, शिक्षक कर्मचारी व्यवस्थापन लगायतका कार्यक्रम राखिएका छन् ।

बाल मृत्युदर न्यूनीकरण र सुरक्षित मातृत्वका लागि विगतदेखि सञ्चालन हुँदै आएको सुनौलो हजार दिन कार्यक्रमलाई आगामी वर्षको नीति तथा कार्यक्रममा पनि निरन्तरता दिइएको छ । अति विपन्न र ज्येष्ठ नागरिकलाई घरदैलोमा पुगेर स्वास्थ्य परीक्षण गरिने कार्यक्रम अघि सारिएको छ । यसै गरी विपन्न परिवारका अशक्त नागरिकलाई निःशुल्क रुपमा एम्बुलेन्स सेवा उपलब्ध गराउन पहल गरिनेछ । नगरका सबै वडामा कुपोषण न्यूनीकरण अभियान सञ्चालन, वडा नं. ९ ब्रह्मदेबस्थित सहरी स्वास्थ्य केन्द्रमा प्रयोगशाला सञ्चालन र निजी मेडिकल, क्लिनिक र प्रयोगशाला अुनगमन लगायतका कार्यक्रम छन् । कला, धर्म, संस्कृति र साहित्यको विकासका लागि संस्कृत भाषा साहित्य परिषद् गठन गरिने भएको छ ।

आगामी वर्षमा महाकाली नदीमा दाहसंस्कार स्थल(मुक्तिधाम) निर्माण पूरा गरिने भएको छ । खेलकूदको विकासका लागि खेलाडी उत्पादनलाई प्राथमिकता दिदैं विद्यालय स्तरीय खेलकूद र मेयर कप भलिबल प्रतियोगितालाई निरन्तरता दिइएको छ । धार्मिक पर्यटकीय सडक कालोपत्रेका लागि संघ र प्रदेश सरकारसित पहल गरिने, चक्रपथ जोडिने गरी शुक्लाफाँटा पर्यटन मार्गलाई निरन्तरता दिइएको छ । नगर यातायात गुरु योजना लागू, पार्किङ्ग व्यवस्थित, सडक र धार्मिक स्थलहरुको नामाकरण गरिने लगायतका कार्यक्रम समावेश गरिएका छन् । नगरका सबै वडाका खोला, नाला र खोल्साहरुमा पुल पुलेसा र कल्भर्ट निर्माण कार्यलाई आगामी वर्ष पनि निरन्तरता दिइएको छ । नगरपालिकाले सिँचाई प्रणालीलाई प्रभावकारी बनाउन सौर्य सिँचाई र थोपा सिँचाई कार्यक्रमलाई जोड दिइएको छ । कञ्चन मल निर्माण सुरु, सिटी हल सञ्चालन, नगरपालिकाको प्रशासनिक र वडा कार्यालयको भवन सुरु गरिने लक्ष्य राखिएको छ ।

भीनपा वडा नं. १३ मा वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको सहकार्यमा बायाग्याँस प्लान्ट निर्माण सुरु गरिने भएको छ । नगरपालिकाले केन्द्रसित गत वर्ष सहकार्यका लागि सम्झौता गरेको थियो । सामुदायिक वन र मध्उयवर्ती क्षेत्रमा पर्ने वस्तीमा बायोग्याँस प्लान्टरलाई निरन्तरता दिइनेछ । नगरलाई सफा र स्वच्छ बनाउन मेरो सहर म आफैं सफा गर्छु अभियान सञ्चालन गरिने, ल्याण्डफिड साइड निर्माण स्थल यकिन गरिने, वडा कार्यालयमा विद्युतीय वडापत्र जडान लगायतका कार्यक्रम पारित गरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार