१२ श्रावण २०८१, शनिबार

कैलालीका अधिकांश स्थानीय तहहरुद्वारा बजेट प्रस्तुत, प्रायःको डल्लो बजेट



मुकेश टेंर्रा/शेरबहादुर ऐर, धनगढी । कैलालीका अधिकांश स्थानीय तहरुले डल्लो बजेट सहितको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।


हरेक आर्थिक वर्षको बजेट असार १५ भित्रै ल्याउने संबैधानिक व्यवस्था अनुसार कैलालीका ९ स्थानीय सरकारहरुले मंगलबार नीति तथा कार्यक्रम र बजेट ल्याएका हुन् । ति मध्ये ५ स्थानीय तहले अबण्डा (डल्लो) बजेट ल्याएका छन् भने भने ४ स्थानीय तहले विस्तृत बजेट सहितको नीति तथा कार्यक्रम ल्याएका छन् ।
कैलाली जिल्लाका १३ स्थानीय तह मध्ये दुई वटा स्थानीय तहले नीति तथा कार्यक्रम मात्रै ल्याएका छन् । मंगलबार एक स्थानीय तहको नीति तथा कार्यक्रम गाउँसभाबाट पारित भएको छ । धनगढी उपमहानगरपालिकाले आइतबार नै विस्तृत बजेट सहितको नीति तथा कार्यक्रम नगरसभामा प्रस्तुत गरिसको छ ।
लम्कीचुहा नगरपालिकाले मंगलबार नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । टीकापुर नगरपालिकाले असार ७ गते नीति तथा कार्यक्रम प्रस्तुत गरी असार १५ गतेभित्रै बजेट प्रस्तुत गर्ने तयारीमा लागेको उपप्रमुख केशरी विष्टले बताइन् । जोशीपुर गाउँपालिकाको नीति तथा कार्यक्रम मंगलबारको गाउँसभाले स्वीकृत गरेको छ भने असार १६ गते बजेट प्रस्तुत गर्ने तयारी भएको उपाध्यक्ष गीता कठरियाले बताइन् । उनले जोशीपुरको कुल बजेट ३६ करोड ०२ लाख ६३ हजार रुपैयाँको आउने अनुमान रहेको बताइन् ।
धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, चुरे, कैलारी र मोहन्याल गाउँपालिकाले विस्तृत बजेट ल्याएका छन् भने घोडाघोडी, गौरीगंगा र भजनी नगरपालिका तथा बर्दगोरिया र जानकी गाउँपालिकाले डल्लो बजेट ल्याएका छन् ।
घोडाघोडी नगरपालिकाले कुल ७४ करोड ५७ लाख ६ हजार पाँच सय ५३ रुपैयाँको बजेट ल्याएको छ । गौरीगंगा नगरपालिकाले ६१ करोड ९५ लाख १४ हजारको बजेट ल्याएको छ । जानकी गाउँपालिकाले ४२ करोड ८० लाख १४ हजार र बर्दगोरिया गाउँपालिकाले ३१ लाख ५० लाख ८४ हजार रुपैयाँको बजेट ल्याएका छन् । यि चार स्थानीय तहहरुले बजेटको चालु खर्च र पूँजिगत खर्च समेत छुट्याएका छैनन् । ५७ करोड ९४ लाख ४१ हजार दुई सय ६१ रुपैयाँको डल्लो बजेट ल्याएको भजनी नगरपालिकाले ७ करोड ६० लाख रुपैयाँ चालु र २५ करोड ९३ करोड ५९ लाख सात ५० रुपैयाँ पूँजिगत खर्च छुट्याएको छ । भजनीकी उपप्रमुख छायाँ देवकोटाले विषयगत शिर्षकमा बजेट विनियोजन गर्न बाँकी रहेको बताइन् ।
धनगढी उप–महानगरपालिकाले आर्थिक बर्ष २०७६÷०७७ का लागि एक अर्व ४८ करोड चार लाख ४८ हजारको बजेट ल्याएको छ । उपमहानगरपालिकाले चालुतर्फ ७६ करोड ३६ लाख ४२ हजार एक सय ६६ रुपैया“ ३८ पैसा र पु“जीगत तर्फ ८१ करोड ६८ लाख पा“च हजार आठ सय ३३ रुपैया“ ६२ पैसाको बजेट विनियोजन गरेको छ ।
त्यसैगरी, ९४ करोड १६ लाख १६ हजार पाँच सय रुपैयाँको कुल बजेट ल्याएको गोदावरी नगरपालिकाले चालुतर्फ ४८ करोड ८९ लाख ८५ हजार रुपैयाँ र पूँजिगततर्फ ४५ करोड २६ लाख ३१ हजार पाँच सय रुपैयाँ विनियोजन गरेको छ । गोदावरी नगरपालिकाले पूँजिगत खर्च भन्दा चालु खर्चमा बढि बजेट छुट्याएको हो ।
३८ करोड ६४ लाख ८६ हजारको कुल बजेट ल्याएको चुरे गाउँपालिकाले चालुतर्फ ५ करोड १६ लाख ४६ हजार र पूँजिगततर्फ १७ करोड ९३ लाख रुपैयाँ छुट्याएको छ । कैलारी गाउँपालिकाले चालुतर्फ ४ करोड ५० लाख, पुँजिगततर्फ १४ करोड ६३ लाख १८ हजार र अनुदान तथा संघसंस्थातर्फ २७ करोड ७६ लाख गरी ५० करोड ८५ लाख १८ हजार रुपैयाँको कुल बजेट ल्याएको छ ।
मंगलबार साँझ अबेरसम्म बजेट गाउँसभामा प्रस्तुत गर्न नसकेको मोहन्याल गाउँपालिकाले रातिसम्म भएपनि बजेट सहितको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी रहेको उपाध्यक्ष पुजादेवी बुढाले बताइन् । उनले ४२ करोडको हाराहारीमा बजेट प्रस्तुत हुने बताइन् ।
कैलालीका १३ वटै स्थानीय सरकारहरुले भौतिक पूर्वाधार विकास, कृषि, स्वास्थ्य, शिक्षा र सरसफाईलाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम र बजेट ल्याएका छन् । धनगढी उपमहानगरपालिकाल भौतिक पूर्वाधार विकासलाई प्राथमिकता दिंदै सुधारिएको सडक र कृषिमा आधुनिकिकरण तथा व्यवसायीकरणलाई विशेष जोड दिएको छ ।
गोदावरी नगरपालिकाले नगर गौरवको योजना अन्तरगत प्रत्येक वडामा ३÷३ किलोमिटर सडक कालोपत्रे गर्ने योजना प्राथमिकताका साथ अगाडि सारेको छ भने कृषि आधुनिकीरणलाई विशेष जोड दिएको उपप्रमुख रत्ना कडायतले बताइन् । उनले एक वडा एक स्वास्थ्य केन्द्र कार्यक्रम अन्तरगत स्वास्थ्य केन्द्र नभएका वडामा स्वास्थ्य केन्द्र स्थापना गरिने र स्वास्थ्य केन्द्र भएको वडामा स्वास्थ्य केन्द्रलाई सुधार गरी प्रसुती गृह सञ्चालन गरिने बताइन् ।
चुरे गाउँपालिकाले सबै वडामा सडक सञ्जाल विस्तार गर्ने नीतिलाई प्राथमिकता दिएको उपाध्यक्ष दीपादेवी साउँदले बताइन् । उनले विशेष गरेर साविकको खैराला गाउँपालिका तथा हालको वडा नं. २ र ४ लाई सडक सञ्जालले जोड्न विशेष प्राथमिकताका साथ बजेट विनियोजन गरिएको बताइन् । उनले कृषिलाई समेत प्राथमिकता दिएर कृषि यान्त्रीकीकरण र आधुनिकीकरण गर्ने र निगालीलाई सुन्तला उत्पादन क्षेत्र बनाउने घोषणा गरिएको बताइन् ।
जोशीपुर गाउँपालिकाले गाउँपालिकालाई चक्रपथले जोड्ने र दुई वटा गाउँ गौरवको योजना अन्तरगत ठूलो लगानीमा सडक कालो पत्रे गर्ने नीति लिएको उपाध्यक्ष कठरियाले बताइन् । उनले गाउँ गौरवका योजना अन्तरगत जोशीपुर–हँस्लापुर र गढी–घैला–लोहागढ सडकलाई कालो पत्रे गर्न प्रति सडक दुई करोड १० लाखका दरले थप बजेट विनियोजन गरिने बताइन् ।
कैलारी गाउँपालिकाले सडक पूर्वाधारलाई प्राथमिकता ंिदंदै सडक कालोपत्रे, स्तरोन्नती, ग्राभेल, झोलुंगेपु, सडक मर्मत सम्भार, ग्रीन एण्ड स्मार्ट गाउँपालिका, कृषि आधुनिकीकरण तथा यान्त्रीकीकरण, विपद् व्यवस्थापन तथा तटबन्धन निर्माण, खानेपानी, सरसफाई, वन, वातावरण संरक्षण, शिक्षा, स्वास्थ्य तथा पर्यटन विकास, सहकारी उद्योग स्थापना जस्ता कार्यक्रम ल्याई त्यसमा बजेट समेत विनियोजन गरेको छ । गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले सुशासन र आर्थिक विकासलाई समेत प्राथमिकतामा राखेको बताए ।
गौरीगंगा, घोडाघोडी, लम्कीचुहा, भजनी र टीकापुर नगरपालिका तथा जानकी, बर्दगोरिया र मोहन्याल गाउँपालिकाले पनि सडक पूर्वाधारलाई पहिलो प्राथमिकता दिंदै कृषि, पर्यटन, उद्योग, स्वास्थ्य, शिक्षा लगायत मानव विकासका कार्यलाई प्राथमिकतामा राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार