१० श्रावण २०८१, बिहीबार

नेपाल पत्रकार महासंघको प्रथम साधारण सभाः दश बुंदे घोषणापत्र जारी, मिडिया काउन्सिल विधेयक फिर्ता गर्न माग



धनगढी । नेपाल सरकारले संघीय संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयक अविलम्ब खारेज गर्न जोडदार माग दोहोर्याउदै नेपाल पत्रकार महासंघ, सुदूरपश्चिम प्रदेशको पहिलो साधारण सभा शुक्रबार धनगढीमा भएको छ ।
मुलुक संघीय संरचनामा गएसंगै श्रमजिवी पत्रकारहरुको छाता संगठनका रुपमा रहेको नेपाल पत्रकार महासंघ समेत संघीय ढांचामा प्रवेश गरेपछि पहिलो साधारण सभा भएको छ ।
साधारण सभामा सुदूरपश्चिम प्रदेशका सबै जिल्लाका प्रदेश पार्षद, जिल्ला अध्यक्ष, केन्द्रिय महासचिव रमेश बिष्ट, केन्द्रिय कोषाध्यक्ष राजेश मिश्र, महासंघको सुदूरपश्चिम प्रदेशवाट प्रतिनिधित्व गर्ने केन्द्रिय सदस्यहरु, महासंघका पूर्व पदाधिकारीहरु समेतको उपस्थितिमा सो घोषणापत्र जारी गरिएको छ ।
महासंघको प्रथम सुदूरपश्चिम साधारण सभाले सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने गरी संघीय संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयक तत्काल खारेज गर्न माग गरेको छ । त्यस्तै, संविधानको मर्म र भावना विपरित प्रेस स्वतन्त्रता र अभिव्यक्ती स्वतन्त्रता कुण्ठित गर्ने कुनै पनि प्रकारका नीति तथा कानून नल्याउन चेतावनी दिएको छ ।
साधारण सभाले जारी गरेको घोषणापत्रमा भनिएको छ– महासंघ, सुदूरपश्चिम प्रदेशको यो पहिलो साधारण सभा सरोकारवालाहरुसंगको व्यापक छलफल सहित प्रेस स्वतन्त्रतालाई अक्षुण्ण राख्नेगरी छिटोभन्दा छिटो समयसापेक्ष नयां राष्ट्रिय सञ्चार नीति ल्याउन पनि जोडदार माग गर्दछ ।
साधारण सभाले सुदूरपश्चिमको पत्रकारिताको समानुपातिक तथा समावेशी विस्तार र विकासलाई प्रवद्र्धन गर्ने लक्ष्यसहित प्रदेश तथा स्थानीय सञ्चार नीति अविलम्ब ल्याउन माग गरेको छ ।
यसअघि साधारण सभाको एक भव्य समारोहबीच सुदूरपश्चिम प्रदेशका प्रमुख मोहनराज मल्लले उद्घाटन गरे ।
उद्घाटन कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाहले प्रदेश सरकार जहिले पनि प्रेस स्वतन्त्रताको संरक्षण र सम्वद्र्धनमा प्रतिवद्ध रहेको दोहोराए ।
मन्त्री शाहले सुदूरपश्चिम प्रदेशको समृद्धिका लागि सबै पक्षबीचको समन्वय र सहकार्य आवश्यक रहेको बताए । उनले भने– सबैको ध्येय भनेको लोकतन्त्रको संस्थागत विकास तथा समृद्धि नै हौं । र, प्रेस स्वतन्त्रताको संरक्षण बिना लोकतन्त्रको संस्थागत विकास सम्भव हुदैन भन्नेमा सरकार सधैं सजग छ ।
सो अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रमेश बिष्टले वर्तमान सरकारले एकपछि अर्को गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता तथा नागरिक अधिकार कुण्ठित गर्ने दुस्प्रयास गरिरहेको आरोप लगाए ।
महासचिव बिष्टले भने– पत्रकारले समाचार लेखेका कारण हत्या अभियोगमा गरिने जेल सजाय भन्दा पनि बढी १५ वर्ष जेल सजाय गर्ने ऐनले कस्तो प्रेस स्वतन्त्रताको संरक्षण गर्छ । महासचिव बिष्टले सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने कुनै पनि दुस्प्रयास सफल हुन नदिने चेतावनी दिए ।
कार्यक्रममा सत्तारुढ नेकपाका सुदूरपश्चिम प्रदेश सभाका सचेतक तारा लामा तामाङ्गले पत्रकारिताभित्र मौलाउदै गएको विकृति तथा बिसंगतीको अन्त्यका लागि सम्पूर्ण श्रमजीवी पत्रकारहरु एकजुट हुन आग्रह गरे ।
प्रमुख सचेतक तामाङ्गले भने– कुनै पनि प्रलोभन, डरत्रासबाट मुक्त मिडियाले मात्रै प्रभावकारी ढंगले भूमिका निर्वाह गर्न सक्दछ ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य उमादेवी वादीले मिडियाले दलित सहित सिमान्तकृत वर्ग, समुदायको अधिकारका पक्षमा निर्वाह गरेको भूमिका सधैं सराहनीय रहेको चर्चा गरिन् ।
कार्यक्रममा कैलाली जिल्ला समन्वय समितिका प्रमुख सूर्यबहादुर शाह, धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वड, नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्रि सिग्देल, प्रेस संगठनका केन्द्रीय सचिवालय सदस्य रामसिंह महासंघका कैलाली अध्यक्ष जगत साउद, कैलाली नागरिक समाजका अध्यक्ष खडगराज जोशी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
साधारण सभाको उद्घाटन समारोह महासंघका प्रदेश अध्यक्ष अर्जुन शाहको अध्यक्षतामा भएको थियो । महासंघका प्रदेश उपाध्यक्ष दुर्गाप्रसाद भण्डारीले स्वागत गरेको तथा अर्का उपाध्यक्ष चांदनी आचार्यले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन महासचिव योगेश रावलले गरेका थिए ।

प्रेस स्वतन्त्रता बिना लोकतन्त्र रहदैन– प्रदेश प्रमुख मल्ल

पत्रकार महासंघको सुदूरपश्चिम प्रदेशको प्रथम साधारणको उद्घाटन गर्दै प्रदेश प्रमुख मोहनराज मल्लले प्रेस स्वतन्त्रता बिना लोकतन्त्रको कल्पना गर्न नसकिने बताए ।
प्रदेश प्रमुख मल्लले लोकतन्त्रका लागि नेपाली मिडियाले निर्वाह गरेको भूमिका सधैं सराह्नीय रहेको चर्चा गरे । प्रदेश प्रमुखले भने– लोकतन्त्र प्राप्तिका प्रत्येक आन्दोलनमा नेपाली प्रेसले निर्वाह गरेको भूमिका सधैं स्तुत्य रहेको छ ।
संक्षिप्त लिखित मन्तव्य प्रस्तुत गर्दै प्रदेश प्रमुखले सुदूरपश्चिम प्रदेशमा प्रेसको विकासका साथै प्रेस स्वतन्त्रताको संरक्षण र सम्वद्र्धनमा सधैं सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।

अग्रज पत्रकारद्वय शाह र भट्ट सम्मानित
साधारण सभामा सुदूरपश्चिमका अग्रज पत्रकारद्वय घनबहादुर शाह र कर्णदेव भट्टलाई सम्मान गरियो ।
कैलालीको धनगढीमा २०३७ सालदेखि परिचर्चा तथा पछि सेती समाचारबाट पत्रकारिता गरेका पत्रकार शाह र कञ्चनपुरको महेन्द्रनगरबाट २०४३ सालबाट पत्रकारिता शुरु गरेका पत्रकार भट्टलाई सुदूरपश्चिमको पत्रकारिताको विकास र विस्तारमा गहकिलो योगदान पुर्याएवापत सम्मान गरिएको जनाइएको छ ।
पत्रकारद्वय शाह र भट्टलाई सुदूरपश्चिमका प्रदेश प्रमुख मल्लले सम्मानपत्र, दोसल्ला तथा मालाले सम्मान गरे । नेपाल पत्रकार महासंघ

सुदूरपश्चिम प्रदेश प्रथम साधारण सभावाट जारी घोषणा–पत्र

मुलुक संघीय संरचनामा गएसँगै श्रमजिवी पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ समेत संघीय ढाँचामा प्रवेश गरेको छ । संघीय ढाँचामा गएपछि पत्रकार महासंघको प्रदेश स्तरिय प्रथम साधारण सभा मिति २०७६ असार ६ गते धनगढीमा ऐतिहासिक रुपमा सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेशका सबै जिल्लावाट सहभागी प्रदेश सभा पार्षद, जिल्ला अध्यक्ष, केन्द्रिय महासचिव, केन्द्रिय कोषाध्यक्ष र नेपाल पत्रकार महासँघ सुदूरपश्चिम प्रदेशवाट प्रतिनिधित्व गर्ने केन्द्रिय सदस्यहरु, नेपाल पत्रकार महासँघका पूर्व पदाधिकारीहरु समेतको उपस्थितिमा भएको निर्णयको आधारमा यो घोषणापत्र जारी गरिएको छ ।
१ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने गरी नेपाल सरकारले संघीय संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयक तत्काल खारेज गर्न नेपाल पत्रकार महासंघ, सुदूरपश्चिम प्रदेशको प्रथम साधारण सभा जोडदार माग गर्दछौं । साथै, संविधानको मर्म र भावना विपरित प्रेस स्वतन्त्रता र अभिव्यक्ती स्वतन्त्रता कुण्ठित गर्ने कुनै पनि प्रकारका नीति तथा कानून नल्याउन यो साधारण सभा पुनः सरकारको ध्यानाकर्षण गराउँदछ ।
२. महासंघ, सुदूरपश्चिम प्रदेशको यो पहिलो साधारण सभा सरोकारवालाहरुसंगको व्यापक छलफल सहित प्रेस स्वतन्त्रतालाई अक्षुण्ण राख्नेगरी छिटोभन्दा छिटो समयसापेक्ष नयाँ राष्ट्रिय सञ्चार नीति ल्याउन पनि जोडदार माग गर्दछ ।
३.यो साधारण सभा श्रमजिवी पत्रकारहरुको पेशागत र भौतिक सुरक्षाको ग्यारेण्टी र न्युनतम पारिश्रमिक लागु गर्न सरोकारवालाहरु सँग माग गर्दछ ।
४.बिगतदेखि केन्द्रिकृत रुपमा रहेका संचार क्षेत्र सँग सम्वन्धित प्रेस काउन्सिल, सूचना विभाग, सूचना आयोग लगायतका निकाय प्रदेश स्तरमा स्थापना गर्न यो साधारण सभा माग गर्दछ ।
५. समानुपातिक बिज्ञापन प्रणाली लागु गरी स्थानीय बिज्ञापन स्थानीय संचार माध्यममा प्रकाशन प्रशारण गर्ने नीति बनाउन प्रदेश सरकारसँग यो साधारण सभा जोडदार माग गर्दछ ।
६.पत्रकार आचारसंहिताको पूर्ण कार्यान्वयन तथा पालना गर्न सम्पूर्ण पत्रकारलाई यो साधारण सभा आव्हन गर्दछ । यसका साथै केन्द्रिय समितिको परिपत्र र पत्रकार महासँघको बिधान बमोजिम लामो समयदेखि पत्रकारितामा क्रियाशिल नरहेका तर महासँघको सदस्य रहेका सदस्यहरुलाई सदस्यता नविकरण नगर्न, नगराउन सबै शाखाहरुलाई यो साधारण सभा ध्यानाकर्षण गराउँदछ ।
७ .बिगतका दिनमा राज्यबाट उपेक्षामा पारिएका कारण सबै भन्दा बढी गरीवि, वेरोजगारी, मानव विकास सूचांकमा पछाडी रहेको सुदूरपश्चिम प्रदेशका नागरिकहरुलाई संविधानमा प्रदत्त मौलिक अधिकार व्यवहारमा लागु भएको अनुभुती गराउन यो साधारण सभा तीनै तहका सरकारसँग माग गर्दछ ।
८. .सुदूरपश्चिम प्रदेश सरकारको बजेटमा संचारकर्मी र संचारक्षेत्रको क्षमता अभिवृद्धी, प्रवद्र्धन र पत्रकार कल्याण कोष स्थापनाको लागी आकर्षक बजेट बिनियोजनका लागी यो साधारण सभा, प्रदेश सरकार र स्थानीय सरकारहरुसँग माग गर्दछ ।
९. महासंघको यो सुदूरपश्चिम प्रदेशको पहिलो साधारण सभा सुदूरपश्चिमको पत्रकारिताको समानुपातिक तथा समावेशी विस्तार र विकासलाई प्रवद्र्धन गर्ने लक्ष्यसहित प्रदेश तथा स्थानीय सञ्चार नीति अविलम्ब ल्याउन माग गर्दछ ।
१० यो साधारण सभा सफल पार्न प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सम्पूर्ण निकाय, जिल्ला शाखाहरुको साथै आतिथ्य शाखा कैलाली, झोला उपलब्ध गराउने कञ्चनपुर शाखा, टोपी उपलब्ध गराउने स्टेशनरी उपलब्ध गराउने प्रतिक बुक्स एण्ड स्टेशनर्श, टीकापुर सहित सम्पूर्ण संघसंस्था तथा महानुभावमा धन्यवाद ज्ञापन गर्दछ ।
मिति २०७६ असार ६ गते,
धनगढी, कैलाली

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार