३ जेष्ठ २०८१, बिहीबार

लम्कीमा ५० शैय्याकाे अस्पतालकाे सिलान्यास



धनगढी । लम्कीचुहा नगरपालिकाका मेयर महादेव बजगाईका लागि गाडी किन्न छुट्याएको रकमले ५० शैय्याको अस्पतालमा बनाउन थालिएको छ ।

लम्कीचुहा नगरपालिका–१०, चुहामा लम्कीचुहा सामुदायिक अस्पताल निर्माणका लागि बिहिबार प्रतिनिधि सभा सदस्य झपट रावलले सिलान्यास गरेका छन् । दुई वर्षभित्रै निर्माण सम्पन्न गरी सक्ने लक्ष्य लिइएको सो अस्पतालमा लम्कीचुहा नगरपालिकाले गाडी किन्न छुट्याएको ७५ लाख र म्याचिङ फण्डबाट १५ लाख गरी ९० लाख रुपैयाँमा निर्माण गरिरहेको छ । ३२ करोड लागत अनुमान गरिएको अस्पतालमा सांसद् रावलले पूर्वाधार विकास कोषबाट एक करोड १० लाख र सोही क्षेत्रबाट निर्वाचित सुदूरपश्चिम प्रदेश सभा सदस्य नन्दबहादुर साउँदले पूर्वाधार विकास कोषबाट एक करोड १३ लाख रुपैयाँ सहयाेग गरेका छन् ।
सो अस्पताल निर्माणका लागि चुहाको राष्ट्रिय नव जागृति माध्यमिक विद्यालयले साढे ५ विघा जमीन निःशुल्क उपलब्ध गराएको छ । लम्कीचुहा नगरपालिकाका मेयर बजगाईको अध्यक्षतामा सम्पन्न सिलान्यास कार्यक्रमको अवसरमा प्रतिनिधि सभा सदस्य रावलले लम्कीचुहा नगरपालिका तथा बर्दगोरिया र मोहन्याल गाउँपालिकाका नागरिकलाई उपचार गराउन भारत जानुपर्ने बाध्यता अन्त्यका लागि अस्पतालमा लगानी गरिरहेको बताए । उनले अस्पताल बनेपछि लम्कीचुहा नगरपालिका आसपासका नागरिक समेत लाभान्वित हुने बताए ।
सो अवसरमा लम्कीचुहा नगरपालिकाका मेयर बजगाईले अस्पताल निर्माणमा बजेट अभाव हुन नदिन आगामी दिनमा पनि नगरपालिकाले बजेट छुट्याउने र थप बजेटका लागि प्रदेश र संघीय सरकारसंग पनि बजेट माग गरिएको बताए ।

यसैगरी, बिहिबार नै लम्कीचुहा नगरपालिका वडा नं. ८ मा वडास्तरीय सामुदायिक स्वास्थ्य केन्द्र उद्घाटन गरिएको छ । स्वास्थ्य केन्द्र उद्घाटन प्रतिनिधि सभा सदस्य रावलले गरे । सो स्वास्थ्य केन्द्र स्थापनाका लागि लम्कीचुहा नगरपालिकाले १५ लाख र सुदूरपश्चिम प्रदेश सरकारले १० लाख रुपैयाँ लगानी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार