११ श्रावण २०८१, शुक्रबार

धनगढी विमानस्थल थप एक साता बन्द हुने



धनगढी । धनगढी विमानस्थल थप एक साता बन्द हुने भएको छ । एक महिनाको अवधिमा धावन मार्ग स्तरोन्नतिको काम पुरा नभएपछि विमानस्थल थप एक सातासम्म बन्द हुने जनाइएको छ ।

विमानस्थलमा पहिलेको भन्दा बढी दलदले माटो निस्किएकाले काम लम्बिएको निर्माण कम्पनीले जनाएको छ । निर्माण कम्पनीले मौसम प्रतिकुल नभएमा आगामी २९ गतेबाट विमानस्थल पुनः सञ्चालन हुने बताएको छ ।
गत वैशाख २२ गतेबाट उडान सेवा बन्द गरेर धनगढी विमानस्थलमा धावन मार्ग स्तरोन्नतिका साथै क्षेत्र विस्तारको काम भइरहेको छ ।
निर्धारित समयमा धावन मार्ग विस्तारको काम नसकिएपछि वैशाख २८ गतेसम्म विमानस्थल बन्द रहने धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुड्थापाले बताए ।
अहिले तीन वटा मात्रै ठुला जहाज पार्किङ गर्न मिल्ने धनगढी विमानस्थल अब चार वटा ठुलै जहाज पार्किङ गर्न सकिने गरी बन्न लागेको उनले बताए ।
मौसमले साथ दिएमा अबको ५ दिनमा विमानस्थलमा हवाई उडान सुचारु हुने गरी काम भइरहेको निर्माण कम्पनी लुम्बिनी, कोषी, न्यौपाने र खड्का, कृष्ण जेभीका इन्जिनियर सचिन थापाले बताए । उनले वर्षा भएमा विमानस्थल मर्मत तथा स्तरोन्नती कार्य लम्बिने बताए ।
काठमाडौं–धनगढी–काठमाडौं दैनिक पांच वटा हवाई उडान हुने धनगढी विमानस्थल एक महिना देखि बन्द रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार