१० श्रावण २०८१, बिहीबार

कैलारीमा शहिद स्मारक बन्दै



धनगढी । कैलारी गाउँपालिकामा जनयुद्घकालिन समयमा शहिद भएका व्यक्तिहरुको सम्झनामा शहिद स्मृती प्रतिक्षालय निर्माण हुने भएको छ ।
कैलारी गाउँपालिका र महिला कानुन विकास मञ्चको संयूक्त लगानीमा सो प्रतिक्षालय निर्माण हुन लागेको हो ।
कैलारी गाउँपालिकाको सात लाख र मञ्चको तीन लाखमा कैलारी गाउँपालिका वडा नम्बर १, हसुलियामा प्रतिक्षालय निर्माण हुन लागेको जनाइएको छ ।
मञ्चले संक्रमणकालिन न्याय परियोजना अन्र्तगत प्रतिक्षालय निर्माणका लागि गाउँपालिकासंग सहकार्य गरेको जनाएको छ । मञ्चको तीन लाख लागतमा प्रतिक्षालयको छत निर्माण गरिने जनाइएको छ । मञ्चले बिहिबार एक कार्यक्रम आयोजना गर्दै शहिद स्मृति प्रतिक्षालयको छत निर्माणका लागि गाउँपालिकासंग सम्झौता गरेको छ ।
प्रतिक्षालय निर्माण उपभोक्ता समितिका अध्यक्ष छेदुराम चौधरी र मञ्चकी केन्द्रीय अध्यक्ष मिरा ढुङ्गानाबिच सम्झौतापत्र हस्तान्तरण गरेर सम्झौता गरिएको थियो । उपभोक्ता समितिले मञ्चले प्रदान गरेको तीन लाख रकमबाट तीन महिनाभित्र काम सम्पन्न गरिसक्नुपर्ने उल्लेख छ । यस्तै, मञ्चले शहिद स्मृती प्रतिक्षालय निर्मिाण समितीलाई कैलारी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी सत्गौवा थारुको रहोबरमा तिन लाखको चेक हस्तान्तरण गरेको थियो ।सो अबसरमा कैलारी गाउँपालिकाका उपाध्यक्ष चौधरीले शहिदको सम्झनाका लागी प्रतिक्षालयले महत्वपुर्ण भुमिका खेल्ने बताईन् । ‘थकाई मार्न होस या कुनै छलफल कार्यक्रम होस, प्रतिक्षालय आवश्यक हुन्छ’ उनले भनिन् ।
महिला कानुन विकास मञ्चका अध्यक्ष मिरा ढुगांनाले नेपालमा लोकतन्त्र, प्रजातन्त्र र गणतन्त्र ल्याउन शहिदहरुले गरेको योगदान अतुलनिय रहेको बताईन् । साथै शहिदका परिवारलाई शान्त्वनाका साथै आफनोपनको आभास दिलाउन प्रतिक्षलयले सहयोग गर्ने बताईन् ।
शान्तीका लागी द्धन्दपिडीत सम्बाद सञ्जालका अध्यक्ष गणेश मल्लको अध्यक्षतामा भएको कार्यक्रममा कैलारी गाउँपालिकाका वडा नम्बर १ का वडाध्यक्ष बालकृष्ण डगौँरा थारु, सञ्जालका सदस्य दिनेश चटौत, वडा नम्बर ५ का वडाध्यक्ष बिष्णु चौधरी, शहिद स्मृती प्रतिक्षालय निर्मिाण समितीका पदाधीकारीहरु लगायत स्थानीयको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार