२५ आश्विन २०८१, शुक्रबार

स्वरोजगार कोष विधेयकमाथि दफावार छलफलको प्रतिवेदन प्रदेश सभामा



धनगढी । सुदूरपश्चिम प्रदेश स्वरोजगार विकास कोष सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक २०७५ माथि दफवार छलफलको प्रतिवेदन प्रदेश सभामा पेश भएको छ ।
अर्थ, विकास तथा प्राकृतिक स्रोत समितिले सो विधेयकमाथि दफावार छलफल गरी तयार गरेको प्रतिवेदन बिहीबार बसेको प्रदेश सभा बैठकमा समितिका सभापति हर्कबहादुर कुँवरले प्रस्तुत गरेका हुन् । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयबाट प्रदेश सभामा प्रस्तुत विधेयक दफावार छलफलका लागि माथि प्रदेश सभाको अर्थ, विकास तथा प्राकृतिक स्रोत समितिमा पठाइएको थियो ।
तेस्रो अबिधेशनमै प्रदेश सभामा पेश भएको सो विधेयकमा आर्थिक मामिला मन्त्री झपटबहादुर बोहरा र सत्तापक्षका केही सासंदवीच कोषको अध्यक्षको बन्ने भन्ने विषयमा विवाद भएपछि विषयगत समितिले प्रतिवेदन बनाउन सकेको थिएन । प्रतिवेदन बनाउने बेला विवाद भएपछि तेस्रो अबिधेशनमा सो विधेयकमाथि थप छलफल हुन नपाउँदै अबिधेशन अन्त्य भएको थियो । चौथो अबिधेशन शुरु हुनुपूर्व पार्टीको हाइकमाण्डसित कुरा गरेर विवाद टुंग्याइएपछि मात्रै सो विधेयकमाथि अर्थ समितिले प्रतिवेदन तयार गरेको हो ।
समितिले प्रदेश सभा सचिवालयमा मंगलबार मात्रै प्रतिवेदन दर्ता गराएको थियो । सासंदहरु र मन्त्रीबीच विवादको चुरो कोषको अध्यक्षको बन्ने भन्ने थियो । सासंदहरु कोषको अध्यक्ष मुख्यमन्त्री हुनुपर्ने अडानमा थिए भने आर्थिक मामिला मन्त्री बोहरा कोषको अध्यक्ष आर्थिक मामिला मन्त्री नै हुनुपर्ने अडानमा थिए ।
विवाद यति मात्रै होइन, कोषको खाता सरकारी बैंकमा हुने कि निजी बैंकमा भन्नेमा पनि थियो । मन्त्री बोहरा सरकारी र निजी जुनसुकै बैंकमा खाता खोल्न सकिने प्रावधान हुनुपर्ने पक्षमा रहेपनि केही सांसदहरु भने खाता नेपाल सरकारको स्वामित्वमा रहेका तीन वटा बैंकमा मात्रै सञ्चालन हुनपर्ने पक्षमा थिए ।
अर्थ, विकास तथा प्राकृतिक स्रोत समितिका सभापति हर्कबहादुर कुँवरले यस्तो केही पनि विवाद नरहेको दावी गरेपनि सोही समितिका एक जना सत्तापक्षीय सदस्यका अनुसार विवादको जरो ती दुई कुरा नै हुन् । ती सदस्यका अनुसार पार्टीको हाइकमाण्डबाट विवाद समाधान गराइएपछि मात्रै प्रतिवेदन तयार हुन सम्भव भएको हो ।
सासंदहरुले भने अनुरुप प्रावधान राखी प्रतिवेदन बनाइएको भए मन्त्री बोहराले सो विधेयकमाथिको छलफल बढाउन प्रदेश सभामा प्रस्ताव नै नराख्ने र मन्त्रीपरिषदबाट कार्यविधि बनाएर स्वरोजगार विकास कोष सञ्चालन गर्ने तयारीमा लागेपछि सांसदहरुपछि हटेको स्रोतले बताएको छ ।
प्रदेश सभामा पेश भएको सो प्रतिवेदनमाथि थप छलफल अर्को बैठकका हुने छ ।

प्रदेश सभामा पूर्वबजेट छलफल जारी

सुदूरपश्चिम प्रदेश सभाको बिहिबारको बैठकमा पनि प्रदेशको आर्थिक वर्ष २०७६/०७७ को पूर्व बजेट छलफल जारी रह्यो ।
आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले प्रदेश सभामा जेठ २ गते प्रस्तुत गरेको आर्थिक वर्ष २०७६÷०७७ को विनियोजन विधेयकको सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीतिमाथि छलफल जारी रहेको हो । प्रदेश सभाले जेठ ६ गतेदेखि सो छलफल निरन्तर गर्दै आएको छ ।
छलफलको क्रममा सत्तापक्षकै सांसद्हरुले प्रदेश सरकारको विरोध गर्न थालेपछि बुधबार नेकपा प्रदेश संसदीय दलको बैठक लामो समयसम्म चल्दा प्रदेश सभाको बैठक बस्न सकेन । संसदीय दलको बैठकमा सत्तापक्षका सांसद्हरुलाई सरकारले जवाफ दिएपछि केही समस्या समाधान भएपछि बिहिबारको बैठकमा सत्तापक्षका सांसद्हरु सरकारको विरोध त्यति धेरै गरेनन् ।
पूर्वबजेट छलफलमा भाग लिदै नेकपाका सांसद् महेशदत्त जोशीले प्रदेश सरकारले पर्यटनको नाममा मन्दिर मात्रै बनाउने कार्यक्रम ल्याउनु भन्दा उद्योगमा लगानी गर्नतर्फ ध्यान दिन जरुरी रहेको बताए । ‘पर्यटन मन्त्रालय हो कि मन्दिर मन्यालय ? स्पष्ट हुन जारी छ ।’ चालु आर्थिक वर्षमा प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले बनाएका मन्दिरहरुलाई इंगित गर्दै उनले भने, ‘मन्दिर बनाउन भन्दा उद्योगमा लगानी गर्नतिर सरकारको ध्यान जानुपर्छ ।’
सांसद् जोशीले वनको ५ किलोमिटरमा मात्रै उद्योग स्थापना गर्न सक्ने नीति परानो भएको बताउँदै उनले सो नीति अनुसार सुदूरपश्चिम प्रदेशमा एउटा पनि उद्योग खुल्न सक्ने स्थिति नरहेको बताए । उनले सो नीति तत्काल सच्याउनतर्फ लाग्नुपर्ने बताए ।
सत्तापक्ष नेकपाकै सांसद् मानबहादुर सुनारले महेन्द्रनगरमा एयरपोर्ट सञ्चालन, सुख्खा बन्दरगाह सञ्चालनका लागि सरकारले विशेष बजेट ल्याउनुपर्ने बताए । उनले पर्यटनका लागि शुक्लाफाँटा वन्यजन्तु आरक्षमा लगानी गर्नुपर्ने बताउँदै खप्तड राष्ट्रिय निकुञ्जमा केवलकार सञ्चालनको कार्यक्रम पनि ल्याउनुपर्ने बताए । उनले कृषि उत्पादन बृद्धि गर्न, मुक्त हलिया, कम्लहरी, कमैयाको समस्या समाधानका लागि समेत बजेट व्यवस्था गर्न माग गरे ।
बिहिबारको पूर्व बजेट छलफलमा नेकपाका सांसद् विरमान चौधरी, दुर्गा कामी, प्रमुख प्रतिपक्षका सांसद् दिव्येश्वरी शाह लगायतले भाग लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार