१० श्रावण २०८१, बिहीबार

सत्तापक्षको संसदीय दलको बैठकले गर्दा संसद् स्थगित



धनगढी । सुदूरपश्चिम प्रदेश सभाको बुधबारका लागि बोलाइएको बैठक सूचना टाँसेर स्थगित गरिएको छ ।

सत्तापक्ष नेकपाको प्रदेश संसदीय दलको बैठकको व्यस्तताका कारण प्रदेश सरकारको आग्रहमा दिउँसो २ बजे बोलाइएको बैठक ३ बजेका लागि सारिएको थियो । तर संसदीय दलको बैठक सकिन ढिलाई भएका कारणले सरकारका मन्त्रीहरुले साढे ३ बजेसम्म सभाहलमा उपस्थित हुन नसकेपछि प्रदेश सभाको बुधबारको बैठक स्थगित गरिएको हो ।
प्रदेश सभा सचिवालयका निमित्त सचिव तेजप्रकाश जोशीले निर्धारित समय भन्दा आधा घण्टा ढिलोसम्म सरकारका मन्त्री उपस्थित हुन नसकेकाले सूचना टाँसेर बैठक स्थगित गरेको बताए । उनले प्रदेश सभाको अर्को बैठक जेठ ९ गते बिहिबार दिउँसो २ बजे बोलाइएको बताए ।
निर्धारित समयमा उपस्थित भएका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र प्रतिपक्षी दल राष्ट्रिय जनता पार्टीका सांसद्हरु साढे ३ बजे सभाहलबाट बाहिरिएका थिए । सभाहल खाली भएको केही मिनेटमै सत्तापक्षका सांसद्हरु र सरकारका मन्त्रीहरु प्रदेश सभामा पुगेका थिए ।
बुधबारको बैठकमा सुदूरपश्चिम प्रदेशको स्वारोजगार विकास कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ माथि अर्थ, विकास तथा प्राकृतिक स्रोत समितिमा दफावार छलफलको प्रतिवेदन प्रस्तुत गर्ने र पूर्व बजेट छलफल गर्ने कार्यसूचि थियो ।
प्रमुख प्रतिपक्षी दलका नेपाली कांग्रेसका प्रदेश सांसद् भरतबहादुर खड्काले सरकारले बजेट छलफलमा गम्भीर नभएका कारणले समयमा प्रदेश सभामा उपस्थित नभएर संसदीय दलको बैठक जारी राखेको बताए । उनले सरकारले नै बजेट छलफललाई महत्व नदिएर समयमा उपस्थित नभएपछि आफूहरुले आधा घण्टा कुरेर सभाहलबाट बाहिरिएको बताए ।
तर प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले बजेटकै विषयमा संसदीय दलको बैठक भएकाले आफूहरुले संसदीय दलको बैठक छोट्याएर प्रदेश सभामा उपस्थित भएको बताए । उनले सरकारले बजेट छलफललाई प्राथमिकता नदिएको भन्ने कुरा निराधार रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार