१० श्रावण २०८१, बिहीबार

आर्थिक वर्ष सकिन लाग्यो, बजेट खर्चको सकस



चालू आर्थिक वर्ष २०७५/०७६ सकिन दुई महिना मात्रै बाँकी छ । सुदूरपश्चिम प्रदेश सरकारको चालू आर्थिक वर्षको बजेटमा पुँजीगत खर्च १६ प्रतिशत नाघेको छैन । प्रदेश सरकारको पुँजीगत खर्चमा आशातित प्रगति नभएको बारे चौतर्फी रुपमा टिप्पणी भइरहेको छ । यो वस्तुस्थितिबीच प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बजेट खर्चको गति तीब्र बनाउन विभिन्न मन्त्रालयका सचिव र महाशाखा प्रमुखहरूलाई निर्देशन दिएका छन् ।

धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले चालू आर्थिक वर्षको बजेट ब्यबस्थित र निर्धारित समयभित्रै पूर्ण कार्यान्वयन गर्न प्रदेशका सबै मन्त्रालयका सचिव र महाशाखा प्रमुखहरूलाई निर्देशन दिएका छन् ।
मुख्यमन्त्री भट्टले मंगलबार मुख्यमन्त्री कार्यालयमा प्रदेशका सबै मन्त्रालयका सचिव र महाशाखा प्रमुखहरूलाई बोलाएर बजेट कार्यान्वयन तीब्र बनाउन निर्देशन दिए । चालू आर्थिक वर्ष सकिन दुई महिना मात्रै बाँकी रहेको बेला बैशाख मसान्तसम्म १६ प्रतिशत मात्रै पुँजिगत बजेट खर्च भएपछि मुख्यमन्त्री भट्टले सचिव र महाशाखा प्रमुखहरूलाई पुँजिगत बजेट खर्चको दर बढाउन पूर्ण ध्यान दिन निर्देशन दिए ।
नेपालको संविधान २०७२ ले संघीय सरकारले जेठ १५ गते, प्रदेश सरकारले असार १ गते र स्थानीय सरकारले असार १५ गते नयाँ बजेट तथा कार्यक्रम घोषणा गर्नुपर्ने व्यवस्था गरेको छ । नयाँ बजेट र कार्यक्रम निर्माणको चटारो समेत थपिएको बेला मुख्यमन्त्री भट्टले बजेटलाई व्यस्थित र कार्यान्वयन गर्न निर्देशन दिनुका साथै नयाँ बजेट र कार्यक्रम पनि तदारुकताका साथ निर्माण गर्न आग्रह गरे ।
चालु आर्थिक वर्षका लागि २५ अर्ब रुपैयाँको बजेट ल्याएको सुदूरपश्चिम प्रदेश सरकारले आउँदो आर्थिक वर्षका लागि ३० अर्ब रुपैयाँको बजेट ल्याउने तयारी भइरहेको बताइएको छ । मुख्यमन्त्री भट्टले सचिवहरूलाई आउँदो वर्षको बजेटको मार्गदर्शन छिट्टै मुख्यमन्त्री कार्यालयमा पठाउन समेत निर्देशन दिए । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले मन्त्रालयहरूलाई नयाँ बजेट र कार्यक्रमको प्राथमिकता सहितको मार्गदर्शन तयार गरी मुख्यमन्त्री कार्यालयमा पठाउन पत्राचार गरेदेखि प्रदेशका मन्त्रालयहरूमा नयाँ कार्यक्रम छनौट गर्ने चटारो बढेको छ ।

प्रदेश बजेट अधिवेशन आजदेखि

सुदूरपश्चिम प्रदेश सभाको बजेट अधिवेशन आज (बुधबार) शुरु हुँदै छ । प्रदेश सरकारको बैशाख २६ गतेको निर्णय अनुसार आज जेठ १ गते दिउँसो ३ बजे बजेट अधिवेशनको पहिलो बैठक आव्हान गरिएको जनाइएको छ ।
सुदूरपश्चिम प्रदेश सभाका सभामुख अर्जुनबहादुर थापाले प्रदेश सरकारको मन्त्रीपरिषद्को निर्णय अनुसार प्रदेश प्रमुख मोहनराज मल्लबाट प्रदेश सभाको बजेट अधिवेशन आह्वान भएको जानकारी दिए ।
प्रदेश सभाको बजेट अधिवेशनको पहिलो बैठकमा मुख्यमन्त्री त्रिलोचन भट्ट, प्रतिपक्षी दलका नेता डाक्टर रणबहादुर रावल लगायतले अधिवेशनको सफलताको शुभकामना व्यक्त गर्ने कार्यसूचि रहेको सभामुख थापाले बताए ।
त्यस्तै, प्रदेश सभाको पहिलो बैठकमा मुख्यमन्त्री भट्ट, संसदीय दलका नेता र सांसद्हरूले आर्थिक वर्ष २०७६/०७७ को बजेट तथा कार्यक्रम बारे धारणा राख्ने कार्यसूची रहेको छ ।
प्रदेश सभा बैठकमा प्रादेशिक औद्योगिक व्यवसाय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ समेत टेबुल हुने सभामुख थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार