१० श्रावण २०८१, बिहीबार

उपमहानगरपालिकाले सडक अधुरो छोडेपछि विद्यार्थीले पढ्न छोडेर ग्राभिल फिजाए (भिडियोसहित)



धनगढी । धनगढी उपमहानगरपालिकाले सडक मर्मत अधुरो छाेडेपछि बासुदेवी माविका विद्यार्थीले आफै ग्राभिल फिजाएका छन् ।


धनगढीको वडा नम्बर ६ को कार्यालयदेखि बाशुदेवी माविसम्मको करिब अढाई सय मिटर सडकमा उपमहानगरपालिकाले ग्राभिल फालेर छोडेपछि सो विद्यालयका विद्यार्थीहरुले मंगलबार बिहान ग्राभिल फिजाएका हुन् । ग्राभेलका कारण विद्यालय

जाने बाटो बन्द भएपछि कक्षा ९ र १० का विद्यार्थीले पढ्न छाडेर ग्राभिल फिजाउन लागेको एक विद्यार्थीले बताए ।

वर्षामा हिलो र दिउँदमा धुलो हुँदा विद्यार्थीहरुलाई विद्यालय जान निकै सास्ती थियो । विद्यालय प्रशासनको आग्रहमा सडकमा उपमहानगरपालिकाले जेसिवि लगाएर भरान गरी ग्राभिल फालेको थियो । फिजाउनका लागि जेसिवि पठाउन मेयर नृपबहादुर वडलाई पटक पटक आग्रह गरेपनि सुनुवाई नगरेकाले विद्यार्थीले पढाई छोडेर ग्राभिल फिजाउन परेको वडा अध्यक्ष भागीराम चौधरीले बताए ।

वडा कार्यालयसंगै जोडिएको सो सडकमा विद्यार्थीलाई धुलो र हिलोले सास्ती भएपनि उपमहानगरपालिकाले बजेट विनियोजन गरेको छैन । विद्यालय प्रशासनको आग्रहमा उपमहानगरपालिकाले आफ्नै जेसिवि र ट्रिपर प्रयोग गरी ग्राभिल गरेपनि सडक मर्मत अधुरो छाेडेकाे हो ।

लामाे सडकमा ८ ट्रिप मात्रै ग्राभिल हालेकाले सडककाे समस्या अझैै हटेकाे छैन । यद्दपि, वडा अध्यक्ष चौधरीले सो सडकमा ग्राभिल थपिने बताए । उनले उपमहानगरपालिकाको आफ्नै रोलर नभएकाले फिजाएको ग्राभिल च्याप्न नसकिने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार