सुदूरपश्चिमका नेकपा अध्यक्ष र सचिवको सपथ ग्रहण
धनगढी । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का सुदूरपश्चिम प्रदेशका सबै नौ जिल्लाका नवनियुक्त अध्यक्ष र सचिवहरूले आइतबार सपथ ग्रहण गरेका छन् ।
नेकपा सुदूरपश्चिम प्रदेश कमिटीको आयोजनामा भएको कार्यक्रममा स्थायी समिति सदस्य तथा सुदूरपश्चिम इन्चार्ज भीमबहादुर रावलले जिल्ला अध्यक्ष तथा सचिवहरूलाई सपथ ग्रहण गराए ।
सपथ ग्रहण कार्यक्रममा नेता रावलले सामूहिक निर्णय प्रक्रियाबाट पार्टी सञ्चालन गर्नुपर्ने बताए । नेता रावलले भने– कमिटी प्रणाली अनुसार अघि बढाउने जिल्ला कमिटी विस्तार गरेर जिल्ला अविधेशन र मातहतका कमिटीको अधिवेशन गर्ने जिम्मेवारी पनि तपाईंहरूको नै हो ।
कार्यक्रममा नेकपाका स्थायी समिति सदस्य लेखराज भट्टले एकताको मर्म अनुसार पार्टी एकतावद्ध बनाएर अघि बढाउनु पर्ने बताए ।
नेकपा सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्णबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशका सहइन्चार्ज लक्ष्मणदत्त जोशी, सचिव नेपहादुर चौधरी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
तीन सचिवले लिएनन्, सपथ
आइतबार सुदूरपश्चिम प्रदेशका अछाम, बाजुरा, कैलाली, डोटी, कञ्चनपुर र बैतडी जिल्लाका अध्यक्ष र सचिवले सपथ ग्रहण गरेका थिए । तर, तीन जिल्लाका सचिवले भने सपथ ग्रहण गरेनन् । नेकपा प्रदेश कमिटीका अनुसार डडेलधुराका सचिव डाक्टर ताराप्रसाद जोशी, बझाङका दिलबहादुर सिंह र दार्चुलाका सचिव रामदत्त जोशीले पदको सपथ ग्रहण गरेनन् ।
डाक्टर जोशी, सिंह र जोशी तीनै जना तत्कालिन एमालेका पूर्व जिल्ला अध्यक्ष हुन् । तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपा बनेपछि केही दिनअघि जिल्ला अध्यक्ष नियुक्तिमा आफूहरूभन्दा निक्कै जूनियर व्यक्तिलाई अध्यक्ष बनाइएपछि उनीहरू तीनै जनाले सचिव पदको सपथ ग्रहण गर्न नमानेको बताइएको छ । यसबारे प्रतिक्रिया लिन खोज्दा तिनै जना सम्पर्कमा आउन चाहेनन् ।
सपथ ग्रहण कार्यक्रममा सहभागी हुन नचाहेको चर्चा चलेका तत्कालिन एमाले कञ्चनपुरका अध्यक्ष तथा प्रदेश सभामा नेकपाका प्रमुख सचेतक तारा लामा तामाङले भने सपथ ग्रहण गरेका छन् । उनले पार्टीको निर्णय स्वीकार गर्दे आफूले सपथ लिएको बताए ।
तीन जना सचिवलेृ सपथ नलिएको बारे नेकपाका सुदूरपश्चिम इन्चार्ज रावलले भने– तीन जना सचिवले किन सपथ लिनु भएन भन्ने पत्ता लगाएर कसरी निकास दिने भन्ने छलफल हुनेछ ।