१० श्रावण २०८१, बिहीबार

जनस्वास्थ्य सुधारका लागिः विज्ञहरूसंग रायसुझाव संकलन गरिँदै



धनगढी । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले प्रदेशमा जनस्वास्थ्य सुधारका लागि विज्ञहरूसंग रायसुझाव संकलन प्रक्रिया शुरु गरेको छ ।
सामाजिक विकास मन्त्रालयले प्रदेशमा चिकित्सा, जनस्वास्थ्य र आयुर्वेद क्षेत्रको सुधारका लागि विज्ञहरूसंग रायसुझाव संकलन प्रक्रिया अघि बढाएको जनाएको छ ।
मन्त्रालयले मन्त्री स्तरबाट गत २ गते स्वास्थ्य योजना तथा अवधारणा छनौट सम्बन्धि निर्देशिका स्वीकृत गरेको थियो । मन्त्रालयले सुदूरपश्चिममा रहेका स्वास्थ्य क्षेत्रका विज्ञहरूको दक्षता र प्राविधिक ज्ञानलाई सुदूरपश्चिम प्रदेशको स्वास्थ्य क्षेत्रको सुधारमा उपयोग गर्नका लागि निर्देशिका तयार गरिएको जनाएको छ ।
मन्त्रालयले कम लगानीमा बढी प्रतिफल ल्याउन सकिने र प्रचलित राष्ट्रिय र अन्तर्राष्ट्रिय महत्वपूर्ण प्रतिवद्धताहरू सम्बोधन हुने खालका जनस्वास्थ्य र चिकित्सा क्षेत्रका योजना पहिचान, छनौट र कार्यान्वयन गर्ने उद्देश्यले निर्देशिका तयार गरेको जनाएको छ ।
सो निर्देशिका अनुसार विज्ञ तथा सरोकारवालाहरूले योजना अवधारणा तयार पार्दा नेपालको संविधान २०७२ र सम्बन्धित अनुसूचीहरू, प्रदेश कार्यविभाजन नियमावली, २०७४, राष्ट्रिय स्वास्थ्य नीति २०७२, सहश्राब्दी विकास लक्ष्य, चौधौ पञ्चवर्षीय योजना, प्रदेश सरकारको कार्यक्षेत्र, स्थानीय सरकारलाई रचनात्मक प्राविधिक सहयोग राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिवद्धताहरूलाई ध्यानमा राखेर बनाउनुपर्ने उल्लेख छ ।
मन्त्रालयले कम लगानी, बढी प्रतिफल, दीर्घकालीन सहयोग, सरकारी पद्धति मैत्रीपूर्ण योजनालाई बढी प्राथमिकता दिइने निर्देशिकामा भनिएको छ ।
सुदूरपश्चिम प्रदेश वा प्रदेश वाहिरका स्वास्थ्य क्षेत्रका विज्ञहरू, हाल कार्यरत सरकारी तथा गैरसरकारी कर्मचारीहरू, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य सेवा विभागका कर्मचारी, जनस्वास्थ्य क्षेत्रमा अध्ययनरत वा अध्ययन सकिएर बसेका जनस्वास्थ्यकर्मी, पेसाकर्मी संघसंगठन, सुदूरपश्चिम प्रदेशमा अध्ययन अनुसन्धान गरिएका योजना अवधारणाहरू अपेक्षा गरिएको छ ।
मन्त्रालयले विज्ञहरूलाई बैशाख २५ गतेभित्र अवधारणा योजना पठाउन आग्रह गरेको छ । मन्त्रालयले जेठ महिनाको पहिलो साता प्रदेश स्तरको योजना तर्जुमा, रणनीति, पैरवी गोष्ठी गर्ने जनाएको छ ।
कार्यक्रममा छनौट भएका योजनाहरूको बारेमा विस्तृत प्रस्तुतीकरण गरि छलफल गरिने, विज्ञहरूबाट छनौट भएका योजनाहरू मन्त्रालयले पहिलो प्राथमिकतामा राखेर प्रदेश सरकारको नीति तथा कार्यक्रम र आर्थिक मामिला तथा योजना मन्त्रालयमा आगामी आर्थिक वर्ष २०७६/०७७ को बजेट तथा योजनामा सम्बोधन गर्ने गरी पठाइने मन्त्रालयले जनाएको छ ।
योजना छनौट, सहजीकरण तथा समन्वयका लागि मन्त्रालयका सचिवको संयोजकत्वमा समितिको संरचना निर्माण गरेको छ । समितिमा आर्थिक मामिला तथा योजना मन्त्रालयका उपसचिव, स्वास्थ्य निर्देशनालयका निर्देशक, सेती अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट, स्वास्थ्य महाशाखा प्रमुख सदस्य रहेका छन् भने जनस्वास्थ्य अधिकृत (स्वास्थ्यको योजना हेर्ने, सामाजिका विकास मन्त्रालय) सदस्य सचिव रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार