पूर्व सभासद् शाहसहित दुई जना पक्राउ
धनगढी । नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका नेता तथा पूर्व सभासद डबल शाहलाई प्रहरीले पक्राउ गरेको छ ।
कैलाली प्रहरीले पूर्व सभासद शाहलाई शुक्रबार बिहान उनको धनगढीस्थित डेराबाट पक्राउ गरेको जनाएको छ । शाह नेकपा (विप्लव) का सेती ब्यूरो सदस्य तथा कार्यालय सचिव समेत रहेको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षबहादुर बस्नेतले ‘सशस्त्र प्रहरी बल नेपाल, नम्बर ३४ गण हेडक्वाटर कैलालीबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा पूर्व सभासद् शाहलाई महत्वपूर्ण दस्तावेज सहित पक्राउ गरेको’ बताए ।
प्रहरीले पूर्व सभासद् शाहको डेराबाट नेकपा कैलालीको आयव्ययको विवरण, परिपत्र तथा निर्देशन पत्र, लेटर प्याड, विधान, सेती व्युरोका विभिन्न मितिमा भएका निर्णय, विभिन्न राजनैतिक संगठनात्मक कामको विवरण लगायतका दस्तावेज बरामद गरिएको जनाएको छ ।
प्रहरीले पूर्व सभासद् शाहमाथि राजद्रोह गरेको आरोपमा मुद्दा दर्ता गरी कैलाली जिल्ला अदालत कैलालीबाट सात दिन म्याद थप गरिएको जानकारी दिएको छ ।
उता, शुक्रबार नै प्रहरीले कैलालीको टीकापुरस्थित एकता शिविरबाट नेकपा –विप्लव) एरिया नम्बर ८ का दुई जना सदस्यलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३४ वर्षीय तपेन्द्र रसाईली र ३३ वर्षीय पूर्णबहादुर खडका रहेको बताइएको छ । कैलाली प्रहरीले भने यसको आधिकारिक जानकारी दिएको छैन ।
सरकारले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएको दिनदेखि कैलाली प्रहरीले पूर्व सभासद शाहसहित १३ जनालाई पक्राउ गरेको आधिकारिक जानकारी दिएको छ । कैलाली प्रहरीले शुक्रबार प्रेस विज्ञप्ती जारी गरि सो जानकारी दिएको छ ।
प्रहरीले पक्राउ गरिएका १३ जनामाथि अनुसन्धान जारी रहेको जनाएको छ । प्रहरीले पक्राउ गरेकामध्ये छ जनामाथि आपराधिक उपद्रव गरी आगो लगाएको मुद्दा, चार जनामाथि राजद्रोह, अपराधिक षडयन्त्र, राष्ट्रहित प्रतिकुल कार्य, र संगठित अपराध शिर्षकमा मुद्दा चलाएको छ भने तीन जनामाथि सार्वजनिक हितसमेत विरुद्धको कसुर अपराधमा अभद्र व्यवहार मुद्दा शिर्षकमा मुद्दा दर्ता गरेको विज्ञप्तीमा उल्लेख छ ।