१२ श्रावण २०८१, शनिबार

सम्पादकीयः आम जनतालाई लोकतन्त्रको अनुभूति



सात दशकदेखिको राजनीतिक लडाईं, अस्थिरता तथा अन्योल सदाका लागि अन्त्य हुने र शान्ति र समृद्धिको युग शुरु हुने आशासहित नेपाली जनताको ठूलो संघर्ष, तयाग र बलिदानपछि लोकतन्त्र स्थापना भएको १३ वर्ष भइसकेको छ । संसदीय बहुदलीय प्रजातन्त्र समाप्त पार्ने उद्घोषसहित सशस्त्र युद्ध गरिरहेको तत्कालीन नेकपा माओवादी र राज्यसत्ता बलात् आफ्नो हातमा लिएर निरंकुशता लाद्ने प्रयासमा रहेका तत्कालीन राजा दुवैलाई परास्त गर्न लोकतन्त्रका लागि नेपाली जनताले गरेको निर्णायक जनआन्दोलन सफल भयो । दश वर्षसम्म हिंसात्मक गतिविधि सञ्चालन गर्दै आएका माओवादीलाई हतियार त्यागेर शान्तिपूर्ण ढंगले राजनीतिको मुलधारमा आउन लोकतन्त्रका लागि भएको दोस्रो जनआन्दोलन बलियो आधार बन्यो । त्यस्तै, नेपालबाट निरंकुशता तथा राजतन्त्रको सदाका लागि अन्त्यको निर्णायक आन्दोलन थियो– दोस्रो जनआन्दोलन । दोस्रो जनआन्दोलन सफल भयो । यसकै बलमा विघठित संसदको पुनस्र्थापना भयो । संविधान सभाको निर्वाचन भयो र संविधान सभाबाट नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको घोषणा भयो । संविधान सभाबाटै नेपालको संविधान जारी भयो ।
यो १३ वर्षको अवधिमा थुप्रै घटना, परिघटना भइसकेका छन् । थुप्रै अवरोध, चुनौति, आशंका, अन्योल, घातप्रतिघातका परिघटना भए । नेपाली समाजमा चर्को विभाजनको अवस्था देखाप¥यो । खासगरी प्रदेशको संख्या, सिमांकन र नामाकंनको सवालमा नेपाली समाजमा निकै पीडादायक घटना समेत भए । एकअर्काप्रतिको अविश्वासको अवस्था बन्यो । तर, यी तमाम आशंका, घातप्रतिघात, अन्योल, द्वन्द्वलाई चिर्दै अन्ततः संविधान जारी भयो ।
लोकतन्त्र स्थापना भएको १३ वर्ष पुगेको छ । लोकतन्त्र दिवस मनाइएको छ । तर, अहिले पनि प्रमुख सवाल भनेको आम नेपाली जनताले लोकतन्त्रको अनुभूति गर्न पाएकी पाएनन् भन्ने नै हो । अहिले स्थानीय, प्रदेश र संघमा एउटै पार्टीको सुविधाजनक बहुमत छ । यसको सोझो अर्थ भनेको सरकारहरुलाई राष्ट्र र नागरिकको समृद्धिको पक्षमा काम गर्नका लागि कुनै पनि किसिमको रोकावट छैन । तर, बिडम्बना आम नेपाली जनताले अहिलेसम्म पनि लोकतन्त्रको अनुभूति गर्न पाएका छैनन् । जतिसुकै उन्नत अथवा उत्कृष्ट राज्य प्रणाली लागू गरिए पनि जबसम्म आम नागरिकले विगतको भन्दा आफ्नो जीवन सहज भएको तथा आफ्नो जीवनस्तरमा उल्लेख्य सुधार भएको अनुभूति गर्न नपाएसम्म कुनै अर्थ हुदैन । दुर्भाग्यले स्थानीय, प्रदेश तथा संघमा एउटै पार्टीको दुई तिहाई बहुमतको सरकार रहेको भए पनि आम नेपाली जनताले न त मुलुकमा सुशासनको अनुभूति गर्न पाएका छन्, न मुलुक द्रुत गतिमा समृद्धिको बाटोमा अगाडी बढेको महसुस नै गर्न पाएका छन् । शान्ति सुरक्षा, जवाफदेहिता तथा कानूनी शासनको अवस्था कस्तो छ ? भनेर सामान्य नागरिकले पनि नौ महिना अघि बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तका हत्यारालाई अहिलेसम्म पनि सरकारले पक्राउ गर्न नसकेको एउटै घटनाले पनि आंकलन गरिरहेका छन् ।
लोकतन्त्र बलियो हुने भनेको आम नागरिकले विधिको शासन, समृद्धि, सुशासन, प्रभावकारी सार्वजनिक सेवा प्रवाह, जवाफदेहिता तथा पारदर्शी शासनको भरपर्दो ढंगले अनुभूति गर्न पाउनु हो । दुर्भाग्यले अहिलेसम्म आम नेपाली जनताले यसको अनुभूति गर्न पाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार