१० श्रावण २०८१, बिहीबार

सुदूरपश्चिममा यी हुँदैछन नेकपाका जिल्ला अध्यक्ष



धनगढी । एमाले र माओवादी पार्टी एकता भएको ११ महिनापछि आज काठमाडौमा ठूलो कार्यक्रमका बीच जिल्ला तहमा पनि पार्टी एकता भएको घोषण हुने भएको छ ।


७० बर्ष अघि नेपाल कम्यूनिष्ट पार्टी एकता भएको दिन पारेर हुन थालेको एकता प्रक्रिया अनुसार सुदूरपश्चिममा तत्कालिन एमालेले पाँच र माओबादीले चार जिल्लाको नेतृत्व पाउने भएका छन ।
तत्कालिन अध्यक्षलाई एकता प्रक्रियामा कि अध्यक्ष कि सचिव बनाउने नीति अनुरुप तत्कालिन नेकपा एमालेका अध्यक्षहरु अछाममा शेरबहादुर कुँवर, बाजुरामा कालीबहादुर शाही, डोटीमा चक्र मल्ल अध्यक्ष हुने भएका छन । कैलालीमा भने तत्कालिन एमालेका उपाध्यक्ष रतन थापा अध्यक्ष हुने भएका छन । कुँवर राष्ट्रिय सभा, थापा प्रदेश सभा सदस्य र बाजुरका शाही गाउँपालिका अध्यक्ष छन ।
पहिले जनप्रतिनीधिलाई कार्यकारी नेतृत्व नदिने नीति बनाइएपछि हरेक जिल्लाबाट जनप्रतिनीधि बाहेककाको नाम अधयक्ष र सचिवकारुपमा सिफारिस गरिएको थियो ।
यस्तै गरेर माओवादीबाट डडेलधुरामा मानसिंह माल क्रान्ती, दार्चुलामा गणेश खत्री पावेल, कञ्चनपुरमा वीरबहादुर थापा र बझाङमा मीनबहादुर कुँवर विश्वास अध्यक्ष हुने भएका छन ।

सचिव होलान त सांसद लामा र डा. जोशी !

एमालेले अध्यक्ष पाएको ठाउँमा तत्तकालिन माओबादीका जिल्ला संयोजक सचिव हुने र माओबादीले अध्यक्ष पाएको ठाउँमा तत्कालिन एमालेका अध्यक्ष सचिव हुने नीति आएपछि सुदूरपश्चिममा केही नेतालाई पद लिने कि नलिने भन्ने संकट परेको छ ।
खास गरेर तत्कालिन एमालेबाट कञ्चनपुरका अध्यक्ष भएका तारालामा तामाङ र डडेलधुराका अध्यक्ष डा. तारा जोशीलाई पद लिने कि नलिने भन्ने संकट आएको हो । लामा प्रदेश सभामा नेकपा सांसद तथा प्रमुख सचेतक छन । उनी भन्दा जुनियर वीरबहादुर थापा कञ्चनपुरका अध्यक्ष बन्ने भएपछि लामालाई समस्या परेको बताइन्छ ।
यस्तै डडेलधुरामा पनि आफू भन्दा निक्कै जुनियर मानसिंह माल क्रान्ती अध्यक्ष बन्ने भएपछि डा जोशीलाई अफ्टेरो परेको छ । तर लामा र डा. जोशी निकटले राजनीतिमा सिनियर र जुनियर भन्ने हुँदैन भन्दै पद लिनु पर्ने तर्क गरिरहेका छन । लामा र डा.जोशीसंग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।
बझाङमा एमालेका जिल्ला अध्यक्ष दीलबहादुर सिंहलाई पनि सचिव बन्ने कि नबन्ने भन्ने संकट छ । माओबादीबाट अध्यक्ष बनेका मीनबहादुर कुँवर सिंह भन्दा निक्कै जुनियर हुन । दार्चुलामा पनि एमालेका तत्कालिन अध्यक्ष रामदत्त जोशी सचिव बन्नु पर्ने भएको छ । अध्यक्ष वन्न थालेका गणेश खत्री पावेल पनि जोशी भन्दा जुनियर हुन ।
बैतडीमा माओवादीका तत्कालिन जिल्ला संयोजक भने प्रदेश सभा सदस्य प्रेमप्रकाश भट्ट सचिव हुने सम्भावना रहेको छ । कैलालीमा माओवादीका तत्कालिन संयोजक लालबहादुर सोडारी सचिव बन्ने भएका छन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार