१० श्रावण २०८१, बिहीबार

काँग्रेसले राष्ट्रिय जागरण अभियान सञ्चालन गर्दै



धनगढी । नेपाली काँग्रेसले राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने भएको छ । आगामी ११ गतेदेखि तीन चरणमा जागरण अभियान सञ्चालन हुने काँग्रेसले जनाएको छ ।
काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पहिलो चरणमा एक महिनासम्म ७७ वटै जिल्लामा केन्द्रीय सदस्यहरूको उपस्थितिमा जागरण कार्यक्रम अघि बढाइने बताए । उनले मुलतः १५ वटा सवालमा केन्द्रीत रहेर जागरण अभियान सञ्चालन हुने बताए ।
उनले सबै जिल्ला, क्षेत्र, गाउँ÷नगर, वडा र टोलसम्म विस्तारित हुने जागरण अभियान २०७६ सालभरी तीन चरणमा पुरा हुने जानकारी दिए ।
यसैबीच, काँग्रेसले राष्ट्रिय जागरण अभियानका लागि सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा खटिने प्रतिनिधि÷नेताहरूको टुंगो लगाएको छ । काँग्रेस केन्द्रीय कार्यालयले शुक्रबार सार्वजनिक गरेको सूचि अनुसार सुदूरपश्चिम प्रदेशको कैलालीमा केन्द्रीय सदस्य एनपी साउद र कञ्चनपुरमा केन्द्रीय सदस्य गुरुराज घिमिरेलाई खटाएको छ ।
त्यस्तै, डडेल्धुरामा केन्द्रीय सदस्य वीरबहादुर बलायर, डोटीमा शिवप्रसाद हुमागाई, अछाममा गगनकुमार थापा र बैतडीमा किरणराज शर्मा पौडेललाई खटाएको छ । त्यस्तै, बाजुरामा दिलेन्द्रप्रसाद बडु, बझाङमा मनमोहन भट्टराई र दार्चुलामा असहर कमाल मुसलमानलाई खटाएको छ ।
“हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान (हिमपत अभियान)” नामारकण गरिएको अभियानमार्फत पार्टीको महासमिति बैठकबाट पारित नीति र कार्यक्रम र संशोधित विधान बारे पार्टीपंक्तिमा संलेषण गर्ने, पार्टी पंक्तिमा नविन ढंगको एकता, समन्वय, हार्दिकता अभिवृद्धि गर्ने जनाइएको छ ।
राष्ट्रिय जागरणमार्फत काँग्रेसले वर्तमान सरकारका भ्रष्टाचार लगायत विसंगतिपूर्ण तथा जनविरोधि क्रियाकलापबारे आम नागरिकमा जानकारी गराउने, तथा नेपाली समाजमा रहेका अनेक फरक मत, संविधान या राज्यप्रणाली बारेकै विमतिहरू समेतलाई राष्ट्रिय एकताको सुत्रमा गाँस्न आवश्यक छलफल र बहस अघि बढाउने जनाइएको छ ।
त्यस्तै, कम्युनिष्ट पार्टीको सरकार बनेपछि कुटनैतिक क्षेत्रमा प्रस्तुत अपरिपक्वता, शेयर बजारप्रतिको नकारात्मक व्यवहार र उव्जिएको प्रतिकुल परिणाम, वौद्धिक समुदायप्रतिका अबौद्धिक टिप्पणीहरू र कतिपय अपमानजनक घटना, चिकित्सा शिक्षा क्षेत्रमा बढेको राज्य संरक्षित वेथीति, आदि सन्दर्भले मुलुकको छविलाई पारिरहेको असरबारे नेपाली बौद्धिक क्षेत्रसंग अन्तरक्रिया र सैद्धान्तिक सहकार्य अघि बढाउने जनाइएको छ ।
त्यस्तै, नेपाली समाजमा केही समय यता भइरहेका “निर्मला पन्त” प्रकरण झैं महिला हिंसाका अनेक घटना र प्रवृतिका विरुद्ध जनचेतना अभिवृद्धि गरी महिला सम्मान र सुरक्षा अभिवृद्धि गर्न÷गराउन आम नेपाली नागरिकमाझ जागरण ल्याइनेछ ।
त्यस्तै, वर्तमान सरकार बनेयता प्रेस स्वतन्त्रता माथि बढेको हस्तक्षेप, अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने अनेक प्रयत्न आदिका विरुद्ध नेपाली प्रेस जगतसंग सहकार्य गर्दै प्रेस स्वतन्त्रताको रक्षाका लागि खबरदारीका कार्यक्रम पनि सञ्चालन गरिने जनाइएको छ ।
काँग्रेस केन्द्रीय कार्यालयका अनुसार राष्ट्रिय जागरण अभियान अन्तर्गत प्रथम चरण बैशाख ११ (लोकतन्त्र दिवस) मा आरम्भ भएर जेठ ११ गते समापन हुने छ । त्यस्तै, दोस्रो चरण भदौ २४ गते (वीपी जयन्ती) देखि शुरु भएर असोज ७ मा समापन हुने छ भने तेस्रो चरण पुस ७ मा प्रारम्भ भएर १६ (राष्ट्रिय मेलमिलाप दिवस) मा समापन हुने छ ।
अभियानको उद्घाटन ७७ वटै जिल्लामा एकै समयमा हुने जनाइएको छ ।
त्यस्तै, काँग्रेसका भातृ र शुभेच्छुक संस्थाहरूले राष्ट्रिय जागरण अभियानका मुख्य कार्यक्रमका मिति र समयलाई असर नपर्ने गरी अलग–अलग कार्यक्रमहरू तर्जुमा गर्ने पनि जनाइएको छ ।
काँग्रेसका भातृ तथा भगिनी संस्थाहरू नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल ट्रेड यूनियन कांग्रेस, नेपाल दलित संघ, नेपाल किसान संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ, नेपाल प्रजातन्त्र सेनानी संघ तथा नेपाल शिक्षक संघले आ–आफ्नो लक्ष्य र उद्देश्यसहितका कार्यक्रम सञ्चालन गर्नेछन् ।
त्यस्तै, नेपाल भूतपूर्व सैनिक संघ, नेपाल आदिवासी जनजाति संघ, मुस्लिम संघ, नेपाल, नेपाल सांस्कृतिक संघ, विदेशस्थित नेपाली जनसम्पर्क समिति, काठमाडौंमा रहेका जिल्ला सम्पर्क समितिहरू, समुदाय केन्द्रीत संघहरू र पेशागत संघहरूले पनि कार्यक्रम सञ्चालन गनेृछन् ।
त्यस्तै, राष्ट्रिय जागरण अभियानका क्रममा स्थानीय तह केन्द्रीत कार्यक्रम पनि सञ्चालन हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार