जानकीको अमरावतीमा सांस्कृतिक सम्मिलन हुँदै
धनगढी । कैलालीको जानकी गाउँपालिका वडा नम्वर ९ अमरावतीमा जातिय सदभाव बढाउन र एकअर्काका संस्कृती देखाउन नौलो खालको सांस्कृतिक सम्मिलन हुने भएको छ ।
नयाँ बर्षको अवसरमा सामाजिक, सांस्कृतिक एकता र आर्थिक सम्वृद्धिका लागि सांस्कृतिक सम्मिलन गर्न थालिएको नेपाल जातिय संग्रालयका अध्यक्ष तथा पूर्व सांसद गरिमा शाहले बताइन ।
वैशाख ७ र ८ गते गरेर दुई दिनसम्म सञ्चालन हुने सांस्कृतिक सम्मिलनको बैशाख ७ गते ११ बजे सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । सांस्कृतिक पर्यटन क्षेत्रको विकास गर्नका लागि आयोजना हुन थालेको सम्मिलनमा थारु र पहाडी समदायका चित्रकला, परम्परागत हस्तकला, पहिरन, गरगहना, खाद्य परिकार र फोटो प्रदर्शनी हुने शाहले बताइन । सो अवसरमा पूर्वमन्त्री रामजनम चौधरीको उपस्थितिमा सांस्कृतिक गोष्ठी समेत हुने भएको छ । गोष्ठीमा कला र साहित्य अनुरागीहरुले आफ्ना सृजनाहरु प्रस्तुत गर्न पाउने छन ।
यस्तै गरेर राजी, थारु, मगर, पहाडी समूदायका विभिन्न साँस्कृतिक झाँकी समेत सो अवसरमा प्रदर्शन गरिने अध्यक्ष शाहले बताउनुभयो । सांस्कृतिक सम्मिलनले सुदूरपश्चिमको मौलिक संस्कृतिको संरक्षण, सम्वद्र्धन र प्रचारप्रसारमा सहयोग पुग्ने नयाँ पुस्तालाई संस्कृति हस्तान्तरण हुने , आफ्नो संस्कृतिमाथि गौरव गर्न सिकाउने र सांस्कृतिक एकतालाई मजवूत बनाउने अपेक्षा आयोजक पक्षको छ ।
जातिय संग्रालयका अध्यक्ष शाहले संस्कृति र धार्मिक पर्यटनलाई व्यवसाय र उद्योगकारुपमा अगाल्न प्रेरित गर्ने उद्धेश्यले समेत सांस्कृतिक सम्मिलनको आयोजना गरिएको बताइन ।