१० श्रावण २०८१, बिहीबार

६ महिनापछि नेकपा संसदीय दलकाे बैठक भाेलि



धनगढी । सत्तरुढ दल नेपाल कम्यूनिष्ट पार्टी नेकपा सुदूरपश्चिम प्रदेश संसदीय दलको छ महिनापछि बल्ल बैठक बस्दै छ ।

छ महिनापछि बस्न लागेको दलको यो पाँचौं बैठक रहेको नेकपाका प्रमुख सचेतक तारालामा तामाङले बताए । तर, पार्टीका अन्य सदस्यहरुले पार्टी एकता पछि दुई पटक मात्रै दलको बैठक बसेको र यो तेस्रो बैठक रहेको प्रतिक्रिया दिएका छन् ।
लामो समयपछि बस्न लागेको दलको बैठकमा समसामयिक विषयमा छलफल हुने जनाइएको छ । दलको बैठक बिहिबार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बस्ने जनाइएको छ । बैठकमा नेकपाका संसदीय दलका नेता, मन्त्री, प्रदेश सभा सदस्य तथा पार्टीको नेताहरुको सहभागिता रहने बताइएको छ । स्रोतका अनुसार बैठकमा नेकपाका नेता लेखराज भट्टको पनि सहभागिता रहन सक्ने छ । उनले भने –‘लेखराजजी पनि अहिले यतै हुनुहुन्छ । सायद उहा“को पनि सहभागिता रहन सक्छ ।’
सुदूरपश्चिम प्रदेशको नाम र स्थायी राजधानी निर्धारण गर्नु पूर्व संसदीय दलको बैठक गएको असोज १० मा धनगढीको एक होटेलमा बसेको थियो । सो बैठकमा पार्टीका प्रदेश संयोजक भीम रावल, नेता लेखराज भट्टको सहभागिता रहेको थियो ।
पछिल्लो बैठक बसेको छ महिनासम्म अर्को बैठक बस्न सकेको थिएन् । कार्य व्यस्तता र विषय अभावले बैठक बस्न नसकेको नेकपाका नेताहरूले बताएका छन् ।
‘सबै सांसहरुको उपस्थिति र सरकारको कार्यब्यस्तताले बैठक ढिलाइ भएको हो’ नेकपाका प्रमुख सचेतक तामाङले भने ।
प्रमुख सचेतक तामाङले बैठक समय समयमा बस्नु त राम्रो भएको तर बस्न नपाइएको प्रतिक्रिया दिंदै ‘तर पनि हामीले छलफल भने गरिरहेका छौं ।’
संसदीय दलको बैठक बस्न नसक्दा सत्तारुढ दलकै सांसदहरूले सुझाव र आलोचना राख्ने स्थान प्रदेश सभालाई बनाएका थिए । एक जना सांसदले भने, ‘हामीले सरकारको आलोचना र प्रशंसा संसदीय दलको बैठकमा राख्नु पर्ने हो तर बैठक नबसेको छ महिना बढी भइसकेको थियो । अहिले प्रदेश सभामा दलको कार्यशैलीका विषयमा पनि बोलिरहेका छौं ।’
सांसदलाई व्यवस्थित र सरकारलाई सुद्धिढ गराउन समय समयमा संसदीय दलको बैठक अनिवार्य मानिन्छ तर सत्तारुढ दलकै बैठक बस्न सकेको थिएन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार