१८ पुष २०८१, बिहीबार

प्रदेशको विकास र समृद्धिमा गम्भीर बन्न सरकारलाई संसद्हरुको आग्रह



धनगढी । प्रदेश सांसद्हरुले मंगलबारको प्रदेश सभा बैठकको विशेष सयमा प्रदेश सरकार प्रदेशको समृद्धि र विकासमा सरकार गम्भीर नभएको आरोप लगाएका छन् ।


बैठकमा सत्तारुढ दल नेकपाका सांसद र प्रतिपक्ष दलका सांसदहरूले सरकारले कामको गति सुस्त भएको भन्दै विकासको कामलाई तिब्रताका साथ अगाडि बढाउन आग्रह गरेका हुन् ।
नेकपा संसदीय दलका प्रमुख सचेतक तारा लामातामाङले प्रदेश सभाको दुई तिहाई बहुमतबाट पारित भएको राजधानी कार्यान्वयमा जोड दिनुपर्ने बताए । उनले प्रदेशको राजधानी कार्यान्वयन गर्ने क्रममा यसै वर्ष कुनै न कुनै संरचना निर्माण गर्नुपर्ने बताए । उनले भौतिक संरचना तयार गर्ने गरी कार्य योजना तयार गरेर काम गर्न सरकारलाई आग्रह गरे ।
नेकपाकै सांसद पूर्णा जोशीले सुदूरपश्चिममा व्याप्ते विभेद अन्त्यका लागि सङ्कल्प प्रस्ताव ल्याउन सरकारलाई आग्रह गरिन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद देवराज पाठकले सरकारले आफूहरूलाई विभेद गरेको आरोप लगाए । उनले सरकारलाई प्रमुखप्रतिपक्षले सहयोग गर्दा गर्दै पनि आफूहरुसंग सौतेलो व्यवहार गरेको आरोप लगाए । ‘सरकारले प्रतिपक्षलाई बाइपास गरेर अघि बढिरहेको छ,’ सांसद् पाठकले भने, ‘सरकार गठन भइसकेको एक वर्ष बितिसक्दा पनि जनताले सरकारको महसुस गर्न नसकेका छैनन् ।’
प्रतिपक्षी दल राष्ट्रिय जनता पार्टी (राजपा) का सांसद कृष्ण चौधरीले अहिलेसम्म सरकारले जनताले चाहेको काम गर्न नसकेको आरोप लगाए । उनले समय कम भइसकेकाले तयार गरेका योजना कार्यान्वयनमा जोड दिन सरकारलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार