१२ श्रावण २०८१, शनिबार

कैलाली भ्रमण वर्ष सम्पन्न



धनगढी । जिल्लाको पर्यटन प्रवर्ध्दन गर्ने उद्देश्यले आयोजित कैलाली भ्रमण वर्ष २०७५ सम्पन्न भएको छ ।

चिसापानीमा सरसफार्इ कार्यक्रम गरी  २०७५ बैशाख २२ गते चिसापानीबाट शुरू भएको भ्रमण वर्ष समापन गरिएको हो । उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोख्रेलले उद्घाटन गरेका थिए । समापन कार्यक्रममा प्रतिनिधि सभा सदस्य झपटबहादुर रावलले टीकापुरमा पर्यटन सर्किट, ¥याफ्टिङ्ग, बर्दगोरीया धाम लगायतका पर्यटन प्रवर्द्धनका काम भएको बताए  । उनले अर्को वर्ष ७२ सिटकै भएपनि कर्णाली नदीमा जहाज चलाउन बजेट विनियोजन गरिने घोषणा गरे । उनले बल्चौर–सनकट्टी जाने बाटो कर्णालीमा झुलंगे पुल बनाउने तयारी भैरहेको पनि  बताए ।

 सुदूरपश्चिम प्रदेश सभा सदस्य रतनबहादुर थापाले विकास आयोजना जिम्मा पाएका व्यक्तिबाटै गलत काम भैरहेको र करोडौ रुपैया भ्रष्टाचार भैरहेको बताए । कैलाली भ्रमण वर्षका संयोजक जिल्ला समन्वय समिति कैलालीका संयोजक सूर्यबहादुर थापाले नयाँ वर्षमा नयाँ योजना बनाउन व्यस्त रहेकाले कार्यक्रम छोटो रुपमा समापन गर्नु परेको बताए । भ्रमण वर्ष डल्फिन महोत्सव, चिसापानी र गौरिफन्टामा पर्यटन सूचना केन्द्र स्थापना, ¥याफटिंग ज्याम्बोरी जस्ता गतिविधिले यस जिल्लाको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको उनले बताए । उनले ¥याफटिंग ज्याम्बोरीका लागि मोहन्याल गाउपालिकाले मात्रै १० लाख दिने निर्णय गरेको र अन्य स्थानीय तहबाट पनि सहयोगको अपेक्षा गरेको बताए ।

कार्यक्रममा लम्की चुहा नगरपालिकाका कार्यवहाक प्रमुख टीका थापा, मोहन्याल गाउँपालिकाका अध्यक्ष नवलसिंह रावल, चिसापानी बजार व्यवस्थापन समितिका अध्यक्ष जनक शाहीले भ्रमण वर्ष सफल रहेको बताए । कार्यक्रममा लम्की चुहा नगरपालिका वडा नम्बर ३ का अध्यक्ष भक्तबहादुर चलाउनेले स्वागत गरेका थिए भने सञ्चालन नेत्र भण्डारीले गरे । भ्रमण वर्षकै अवसरमा दुई दिन अघि सोल्टादेखि चिसापानीसम्म सयौं जनाले एकैचोटी ¥याफटिंग गरेका थिए भने समापनको दिन विहान चिसापानी बजारमा सरसफाई गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार