१३ कार्तिक २०८१, मंगलवार

वेपत्ता भएको २१ वर्षपछि काजकिरिया



लम्की । वेपत्ता भएको २१ वर्षपछि लम्कीचुहा नगरपालिका वडा नम्बर ६ का भक्ते (भक्तबहादुर) वडको अन्तिम संस्कार गरिएको छ । भक्तबहादुर २०५४ साल भदौमा रोजगारीका लागि भारततर्फ गएकोमा त्यसपछि न उनी घर फर्के न उनको कुनै खबर नै आयो । त्यतिवेला उनको उमेर ५५ वर्षको थियो । उनका श्रीमति, छोराछोरी, आफन्तले उनको बाटो कुरिरहे । तर, २१ वर्षसम्म पनि उनको कुनै खबर नआएपछि हार खाएका उनका परिवारजनले उनको अन्तिम संस्कार गरेका छन् ।
बिहीबार उनको हिन्दू परम्पराअनुसार अन्तिम संस्कार गरियो । काँसकुस र चाँदीको मुर्ति बनाएर घरबाट शवयात्रासहित कर्णाली चिसापानीमा लगेर अन्तिम दाहसंस्कार गरिएको थियो । त्यस्तै, एक दिन विधिपूर्वक उनको काजकिरिया समेत गरिएको थियो ।
उनकी श्रीमति कोकिलादेवी (६५) ले भनिन्– २०५४ साल भदौमा घरबाट विदा भएर भारत जानु भयो, तर अहिलेसम्म फर्केर आउनु भएन । उनको बाटो हेर्दाहेर्दै यतिका वर्ष विते । रुँदारुँदा आँखाको आँसु सकियो । तर, उहाँको न त सास पाईयो, न लास ।

भक्तबहादुरका दुई छोरा र दुई छोरी छन् । छोराहरुले भारतका विभिन्न शहरमा खोजतलास गरे, तर केही सीप लागेन । “ज्योतिषलाई हेरार्‍यौं” श्रीमति कोकिलाले भनिन्– अनि हार खाएर अहिले दाहसंस्कार गर्‍यौं ।
उनका छोरा बलबहादुरले भारतका धेरै ठाउँमा बुवाको खोजी गर्दा पनि कतै नभेटिएको बताए । उनले भने– हामीले भारतमा मात्रै खोज्यौं, यतातिर हाम्रो ध्यान गएन । सायद बुवा द्वन्द्वमा पर्नु भएको थियो कि ? त्यतिवेला नेपालमा माओवादी सशस्त्र युद्ध जारी रहेको थियो । कैलालीमा पनि माओवादी सशस्त्र युद्ध शुरु भइसकेको थियो । छोरा बलबहादुर भन्छन्– हामीले यतातिर पनि खोजतलास गरेको भए सायद बुवाको कुनै खबर पाइन्थ्यो होला ?

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार