लम्की सांगीतिक महोत्सव शुरु
लम्की । कैलालीको लम्कीमा बिहीबारदेखि लम्की सांगीतिक महोत्सव शुरु भएको छ । सामुदायिक रेडियो लम्कीद्वारा आयोजित महोत्सवको एक समारोहबीच प्रतिनिधि सभा सदस्य सांसद झपटबहादुर रावलले उद्घाटन गरे ।
सो अवसरमा सांसद रावलले केन्द्रीय सत्ताले लामो समयसम्म सुदूरपश्चिमलाई उपेक्षा गरेका कारण अहिले क्षतिपूर्ति स्वरूप सुदूरपश्चिमबाट आर्थिक समृद्धिको यात्रा शुरु हुनुपर्ने बताए ।
उद्घाटन कार्यक्रममा राष्ट्रिय सभा सदस्य कमला वलीले महिला विरुद्ध हुने कुनै पनि प्रकारका हिंसा रोकथामका लागि सबै पक्ष एकजुट हुन आग्रह गरिन् ।
कार्यक्रममा प्रदेश सभा सदस्य रतन थापा, कैलाली जिल्ला समन्वय समिति प्रमुख सूर्यबहादुर थापा, लम्कीचुहा नगरपालिका प्रमुख महादेव बजगाई, उपप्रमुख टीका देवी थापा लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।
महोत्सव आगामी २२ गतेसम्म सञ्चालन हुने आयोजकले बताएको छ ।




