राष्ट्रिय कर दिवस अभियान
धनगढी । सुदूरपश्चिम प्रदेशमा शनिबारदेखि सप्ताहव्यापी सातौं राष्ट्रिय कर दिवस २०७५ अभियानको आरम्भ भएको छ । आन्तरिक राजश्व कार्यालयको आयोजनामा शुरु भएको अभियान अन्तर्गत विभिन्न सरोकारवाला पक्षहरूसँग अन्तरक्रिया, कर शिक्षा लगायतका कार्यक्रम अघि बढाइने जनाइएको छ ।
‘समृद्ध नेपाल, सुखी नेपाल’ भन्ने मुल नाराका साथ शुरु भएको अभियान अन्तर्गत शनिबार कार्यालयदेखि धनगढी बजार परिक्रमा गरेको थियो । परिक्रमापश्चात बृहत कार्यक्रमको आयोजना गर्दै आन्तरिक राजश्व कार्यालयका प्रमुख कर अधिकृत गोविन्दप्रसाद अधिकारी र भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ईश्वरीप्रसाद अर्यालले संयुक्त रूपमा दिवसको अभियानको उद्घाटन गरिएको थियो ।
सो अवसरमा कार्यालयका प्रमुख कर अधिकृत अधिकारीले अझै पनि नागरिकलाइ कर तिर्ने बारे शिक्षा नभएको गुनासो गरे । उनले ठूला व्यवसायी करको दायरामा आएपनि साना व्यवसायीहरूलाई करको दायरामा ल्याउन नसकिएको बताए । उनले कर तिर्ने बानीको विकास गर्न कर शिक्षासँगै सबै सरोकारवालाहरूको साथ र सहयोग आवश्यक रहेको बताए ।
कार्यालयका कर अधिकृत काशीराम पौड्यालले कार्यालयले आर्थिक वर्ष २०७५/७६ को असोजसम्ममा ९४ करोड कर असुल गरिसकेको बताए । कार्यालयले तीन अर्ब २४ करोड कर असुल गर्ने लक्ष्य राखेको छ । कार्यालयले मूल्यअभिवृद्धि र आय कर बढी असुल भइरहेको जनाएको छ । कार्यालयमा हालसम्म ४६ हजार करदाता दर्ता भएको जनाइएको छ । कर अधिकृत पौड्यालले भने ‘दर्ता भएका करदातामध्ये ५० प्रतिशतले मात्र नियमित कर तिर्ने गरेका छन ।’
सो अवसरमा कार्यालयले उत्कृष्ट करदाता छनौट गरी प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मानित गरेको थियो ।