सुपथ मूल्य पसलबाट चिनी बिक्री शुरु
धनगढी । साल्टट्रेडिङ कर्पोरेशन क्षेत्रीय कार्यालय धनगढीले शनिबारदेखि सुपथ मूल्य पसलबाट चिनी विक्री शुरु गरेको छ । साल्टट्रेडिङले दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै असोज १२ गतेबाट सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको थियो । सुपथ मूल्य पसलबाट शुक्रबारसम्म सुपथ मूल्यमा नून र चामल विक्री भइरहेको थियो ।
साल्टट्रेडिङका सहायक महाप्रबन्धक केशवप्रसाद पाण्डेले शनिबारदेखि चिनीको विक्रीवितरण शुरु गरिएको बताए ।
“हामीले शनिबारदेखि चिनी प्रतिकिलो ६८ रुपैयाँका दरले विक्रीवितरण शुरु गरेका छौं” उनले भने– “बजारमा प्रति किलो ८० देखि ९० रुपैयाँमा चिनी विक्रीवितरण भइरहेको छ ।” उनले एक जनालाई छ किलो चिनी बिक्री गरिने बताए ।
सरकारले चाडपर्वमा नून, चिनी, चामल, घ्यू लगायतका अतिआवश्यक वस्तुहरूको कालोबजारी नियन्त्रण गर्न सुपथ मूल्य पसल सञ्चालन गर्ने गरेको छ । “यस वर्ष समयमै सरकारले चिनीको मूल्य निर्धारण नगर्दा सुपथ मूल्य पसलबाट चिनी विक्रीवितरण हुन सकेको थिएन” सहायक महाप्रबन्धक पाण्डेले भने– “अहिले पनि सरकारले मूल्य निर्धारण गरेको छैन । साल्टट्रेडिङ आफैले मूल्य निर्धारण गरेको हो ।”
साल्ट ट्ेरडिङले शनिबारदेखि छठ पर्व अर्थात् १० दिनसम्म सुपथ मूल्य पसलबाट चिनी विक्री गर्ने जनाएको छ ।