५ जेष्ठ २०८१, शनिबार

रसायनिक मल आपूर्तिको माग



धनगढी । प्रदेशका विभिन्न जिल्लामा रसायनिक मलको चरम अभाव सिर्जना भएपछि कृषक सहकारी संस्थाका प्रतिनिधिहरूले शुक्रबार धनगढीमा सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अगाडि चर्को नाराबाजी गरेका छन् ।
प्रदेशका विभिन्न जिल्लाबाट आएका किसान तथा कृषक सहकारी संस्थाका प्रतिनिधिहरूले मलको सहज आपूर्ति गर्नुपर्ने, धानको खरिद गर्नुपर्ने लगायत माग राख्दै नाराबाजी गरे । यसैबीच, किसानका प्रतिनिधिहरूले मन्त्रालयका उपसचिव यज्ञप्रसाद जोशीमार्फत भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरीलाई ज्ञापनपत्र समेत बुझाए ।
सो अवसरमा उपसचिव जोशीले संघीय सरकारको मातहत रहेका कृषि सामग्री कम्पनीले मल ढुवानीमा र खाद्य संस्थानले धान खरिदमा गरेको ढिलाइका कारण आम किसानले सास्ती भोग्नु परिरहेको बताए ।
दिगो सामुदायिक तथा वातावरण संरक्षण सहकारी संस्था पहलमानपुरका सचिव ईन्द्रलाल भण्डारीले आफूहरू १५ दिनदेखि मल खरिदको लागि कृषि सामग्री कम्पनीलाई रकम भुक्तानी गरे पनि मल नपाएको बताए । उनले दैनिक सयौं किसानहरू सहकारी संस्थामा मलका लागि धाइरहेको भए पनि रित्तै हात घर फर्काउनुपर्ने बाध्यता रहेको सुनाए ।
त्यस्तै, धनगढी उपमहानगरपालिका वडा नम्बर १४ फूलवारीको कुटो कोदालो आधुनिक कृषि सहकारी संस्थाका अध्यक्ष ओमप्रसाद शर्माले हिउँदे सिजनको समय सकिनै लाग्दा पनि मल उपलब्ध गराउने विषयमा सरकार गम्भीर नभएको गुनासो गरे । हाल मल उपलब्ध नगराए एक महिनापछि मल उपलब्ध गराउनुको कुनै औचित्य नहुने उनको भनाइ छ ।
उनले सरकारले किसानलाई मल उपलब्ध नगराउँदा अहिले किसानहरूले भारतबाट खरिद गरेर ल्याइरहेको बताए । उनले समयमै किसानले मल नपाए उत्पादनमा पनि कमि आउने बताए ।
उनीहरूले मलको बिक्रीवितरण गर्दै आएको कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय धनगढीमा तालाबन्दी समेत गरेका छन् ।
सुदूरपश्चिम प्रदेशमा हाल रासायनिक मलको चरम अभाव सिर्जना भएको छ भने खाद्य संस्थानले धान खरिद नगर्दा किसानहरूले सस्तो मूल्यमा व्यापारीकोमा धान बिक्री गर्न बाध्य भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार