२ जेष्ठ २०८१, बुधबार

धार्मिक महायज्ञको आयव्यय सार्वजनिक गरियो



बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ खैरेनीस्थित जगदम्बिके भगवती माध्यमिक विद्यालयमा भएको धार्मिक महायज्ञको आयव्यय विवरण मंगलबार सार्वजनिक गरिएको छ । विद्यालयमा गत असोज २४ देखि ३० गतेसम्म धार्मिक महायज्ञ भएको थियो ।
महायज्ञकको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयका प्रधानाध्यापक नेत्रबहादुर खड्काले शान्ति कलश, सहयोग संकलन, दाताहरूबाट प्राप्त रकम, शालिग्राम पूजा तथा खाद्यान्न बिक्रीबाट १५ लाख ४८ हजार पाँच सय ६६ रुपैयाँ संकलन भएको जानकारी दिए । त्यस्तै, विभिन्न दाताले घोषणा गरेको २० लाख ७१ हजार ६५ रुपैयाँ उठ्न बाँकी रहेको उनले बताए ।
महायज्ञमा १४ लाख ८४ हजार तीन सय रुपैयाँ खर्च भएको प्रतिवेदनमा उल्लेख छ ।
विद्यालयको कक्षा ११ र १२ को सञ्चालनका लागि पूर्वाधार विकास गर्ने लक्ष्यका साथ सो महायज्ञ आयोजना गरिएको थियो ।
सो अवसरमा उनले स्थापनाकालदेखि विद्यालयले थुप्रै चुनौति भोग्दै आएको र आर्थिक स्रोत नभएका कारण अझैसम्म केही निजी स्रोतका शिक्षकको तलब भूक्तानी गर्न बाँकी रहेको बताए ।
कार्यक्रम महायज्ञ मूल आयोजक समितिका संयोजक मनऋषि आचार्यको अध्यक्षतामा भएको थियो ।
सो अवसरमा वडाध्यक्ष कर्ण सुनार, वडा सदस्यहरू, दानुफाटा नमुना सामुदायिक वन समितिका अध्यक्ष टेकराज जोशी, रानीजरुवा सामुदायिक वन समितिका अध्यक्ष लालसिंह विश्वकर्मा, न्यू लालीगुराँस ग्रामीण विद्युत सहकारी संस्थाका अध्यक्ष भूपेन्द्रबहादुर रास्कोटी, शिवशक्ति ग्रामीण विद्युत सहकारी संस्थाकी अध्यक्ष डम्मरा घर्तीमगर तथा अभिभावक, शिक्षक लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन शिक्षक शिवराज गौतमले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार