५ जेष्ठ २०८१, शनिबार

चाडबाडलाई दृष्टिगत गरी सीमा क्षेत्रमा सुरक्षा व्यवस्था बढाइयो



धनगढी । दशैंतिहारसहित चाडपर्वलाई दृष्ठिगत गरी स्थानीय प्रशासनले कैलाली र कञ्चनपुरको सीमा क्षेत्रमा सुरक्षा व्यवस्था बढाएको छ । चाडबाडका बेला हुन सक्ने चोरी निकासी, अवैध रूपमा सामान आयात तथा सीमापार अपराधिक गतिविधि नियन्त्रण कार्यलाई प्रभावकारी बनाउन कैलालीको गौरीफण्टा नाका र कञ्चनपुरको गड्डाचौकी लगायतका सीमा नाकामा सुरक्षा व्यवस्था कडा बनाइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार दशैं, तिहार र छठ पर्वलाई ध्यानमा राखी विशेष सुरक्षा योजनाअन्तर्गत धनगढीको कुकुर शाखाका राजा र फुच्चेलाई गौरीफन्टा नाकामा खटाइएको छ ।

sima naka kailali
फाइल तस्बिर

धनगढीको भारतीय सीमासँग जोडिएको त्रिनगर नाकामा केही दिनयता बिहानै वडा प्रहरीको गाडी तालिमप्राप्त राजा र फुच्चे (कुकुर) सहित त्रिनगर सीमानामा परिचालन हुने गरेको छ । प्रहरीका अनुसार राजा विष्फोटक पदार्थ पत्ता लगाउने कुकुर हो । ल्याब्राडोर जातको राजालाई प्रहरी जवान दीपक विकले परिचालन गर्ने गरेका छन् । त्यस्तै, फुच्चे पनि ल्याब्राडोर जातकै कुकुर हो । आठ महिनाअघि प्रहरी प्रधान कार्यालयले धनगढीको संघीय प्रहरी इकाई कार्यालय परिसरमा कुकुर शाखा स्थापना गरेको छ ।
कैलाली प्रहरी प्रमुख विनोद घिमिरेले सीमानाकाबाट अवैध हातहतियार वा अपराधिक क्रियाकलापको जोखिममा बृद्धि नहोस् भन्ने उद्देश्यले सुरक्षा गस्तीसँगै तालिम प्राप्त कुकुर पनि परिचालन गरिएको जानकारी दिए ।
त्यस्तै, कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीमा पनि तालिम प्राप्त कुकुरको सहायताबाट आइतबार बिहानदेखि सुरक्षा चेक बढाइएको छ ।
प्रतिबन्धित वस्तुको रोकथाम एवं नियन्त्रणका साथै चाडपर्वका बेला सीमानाकामा बृद्धि हुने आपराधिक गतिविधि निगरानी गर्न तालिमप्राप्त कुकुरद्वारा सुरक्षा जाँच गर्न थालिएको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ ।
“नेपाल प्रहरी, सशस्त्र प्रहरीका साथै भारतीय एसएसबी पनि सीमा क्षेत्रमा समन्वय गरेर सुरक्षा सतर्कता बढाएको छ” प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी सहायक निरीक्षक गणेशराज जोशीले बताए ।
प्रहरीका अनुसार गड्डाचौकी नाकाबाट दैनिक पाँचदेखि सात हजार नेपाली स्वदेश फर्किरहेका छन् । सो नाकाबाट भारतको नयाँ दिल्ली, बैंगलोर, पञ्जाव, चण्डीगड, सिमला, नैनीताल, हरिद्वारलगायत शहरमा रोजगारी गरे फर्किनेहरूको अहिले दैनिक निकै घुइचो हुने गरेको छ ।
यसैबीच, सीमानाका क्षेत्रमा घर फर्किरहेका नेपालीमाथि भारतीय सुरक्षाकर्मीहरूद्वारा लुट्ने तथा दुव्र्यवहार गर्ने गुनासो बढेपछि प्रहरी तथा प्रशासनका अधिकारीहरूले सीमानाकाको स्थलगत अनुगमन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार