२ जेष्ठ २०८१, बुधबार

सुपथ मूल्य पसलमा ग्राहकको भीड : दुई सातामा करिब चार लाखको बिक्री



धनगढी । साल्ट ट्रेडिङ  कर्पोरेशन तथा नेपाल खाद्य संस्थानद्वारा धनगढीमा सञ्चालित सुपथ मूल्य पसलबाट दुई साताको अवधिमा करिब चार लाख रुपैयाँको नून र चामल विक्री भएको छ ।
साल्ट ट्रेडिङ कर्पोरेशनको, धनगढी क्षेत्रीय कार्यालयमा सञ्चालित सो सुपथ मूल्य पसलबाट दुई साताको अवधिमा तीन लाख ९० हजार तीन सय ५५ रुपैयाँको नून र चामल विक्री भएको जनाइएको छ ।
साल्ट ट्रेडिङका अनुसार सुपथ मूल्य पसलबाट दुई साताको अवधिमा चार हजार तीन किलोग्राम आयोडिनयुक्त नून बिक्री भएको छ । त्यस्तै, सो अवधिमा जिरा मसिनो चामल एक सय ४९ बोरा र सोना मन्सुली चामल ९६ बोरा बिक्री भएको नेपाल खद्य संस्थान, धनगढी कार्यालयले जनाएको छ ।
सुपथ मूल्य पसलमा आयोनून प्रतिपाकेट १८ रुपैयाँमा बिक्री भइरहेको छ । त्यस्तै, सुपथ मूल्य पसलबाट जिरा मन्सुली चामल २५ किलोग्रामको एक हजार दुई सय ९५ रुपैयाँ र सोना मन्सुलीको प्रति २५ केजीको बोराको एक हजार दुई सय ५० रुपैयाँ मूल्य रहेको छ । सोना मन्सुली र जिरा मन्सुलीको बजार मूल्य भन्दा सुपथ मूल्यमा प्रतिक्विन्टल चार सयदेखि पाँच सय रुपैयाँ सस्तो रहेको छ ।
नेपाल खाद्य संस्थान, धनगढी प्रमुख प्रेमनारायण भण्डारीका अनुसार सुपथ मूल्य पसलबाट एक जनाले ५० किलोसम्म चामल खरिद गर्न पाउने व्यवस्था गरिएको छ ।
साल्ट ट्रेडिङ कर्पोरेशनका सहायक महाप्रबन्धक केशवराज पाण्डेले सुपथ मूल्य पसल आगामी कात्तिक २७ गतेसम्म सञ्चालन हुने बताए । साल्ट ट्रेडिङ र खाद्य संस्थानले विपन्न परिवारलाई दशैंतिहारमा राहत दिन सुपथ मूल्य पसल सञ्चालन गरेको जनाएका छन् । कैलालीको गेटामा रहेको खाद्य संस्थानको गोदाममा पनि सुपथ मूल्य पसल सञ्चालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार