२२ बैशाख २०८१, शनिबार

बजार अनुगमन : ठूला होटलहरूमा म्याद नाघिएका खाद्य सामग्री



धनगढी । धनगढीमा रहेका प्राय: ठूला होटलहरूमा म्याद सकिएका खाद्य सामग्री रहेको तथा सरसफाईमा लापरवाही रहेको पाइएको छ ।
खाद्य तथा गुण नियन्त्रण क्षेत्रीय कार्यालय धनगढीले चाडपर्व लक्षित गरी शुरु गरेको बजार अनुगमनका क्रममा ठूला होटलहरूले म्याद नाघेका खाद्य सामग्री प्रयोग गरिरहेको र सरसफाईमा उचित ध्यान नदिएको पाइएको जनाएको छ ।
खाद्य तथा गुण नियन्त्रण विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले धनगढीमा सञ्चालनमा रहेका होटल डिभोटी, होटल रुवस, विकास होटल, साथी होटल तथा जलसा होटललाई उपभोग्य मिति सकिएका खाद्यवस्तु विक्रीवितरण नगर्न तथा सरसफाईमा सुधार गर्न सुझाव दिइएको बताए ।
उनले प्राय: ठूला होटलमा सस, मसला, पास्ता, पाउरोटी, हल्का पेयपदार्थ, सूर्यमुखी गेडा आदि म्याद सकिएको अवस्थामा फेला परेको बताए ।
त्यस्तै, बुधबार नै खाद्य मिलहरूमा समेत अनुगमन भएको थियो । प्रवक्ता वस्तीका अनुसार प्राय: खाद्य मिलमा लेबल अनुसारको तौल एकिन नभएको, उद्योगमा सरसफाइको उचित प्रवन्ध नभएको र प्रयोगशाला उचित ढंगले सञ्चालनमा नरहेको फेला परेको जानकारी दिए ।
उनका अनुसार आरपी एग्रो इण्डष्ट्रिजलाई ५० किलोग्रामका पाँच सय ५० बोरा चामलमा लेबल अनुसारको तौल एकिन गरी पुन: प्याकिङ गर्न लगाइएको थियो । त्यस्तै, शारदा राईस मिलमा एक सय ७० किलोग्राम चामल नष्ट गर्नुका साथै ९९ सय बोरा पुन: प्याकिङ गर्न लगाइएको थियो ।
त्यस्तै, अनुगमन टोलीले धनगढी क्षेत्रमा रहेका ठूला तथा साना पसलबाट पनि म्याद नाघेको सामान बरामद गरेको जनाएको छ । टोलीले विभिन्न पसलबाट म्याद नाघेका विस्कुट, नमकिन, हल्का पेयपदार्थ, खानेतेल, ओलिभ आयल, नेसक्याफे कफी, ल्याक्टोजिन, जिरा, आदि सामान बरामद गरी नष्ट गरेको जनाएको छ ।
विभागका प्रवक्ता वस्तीले दशैंतिहारलाई दृष्टिगत गरी विषेश बजार अनुगमन अघि बढाइएको बताए ।
टोलीले अहिलेसम्म १० खाद्य पसल, सात होटल, दुई गोदाम घर र नौ वटा खाद्य उद्योगमा अनुगमन गरिसकेको जनाएको छ । टोलीले ६० खाद्य नमुनाहरू संकलन गरी परीक्षण समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार