२२ बैशाख २०८१, शनिबार

होटल व्यवसायी संघको २६ औं साधारण सभा



धनगढी । होटल व्यवसायी संघ, कैलालीको २६ औं वार्षिक साधारण सभा शनिबार धनगढीमा भएको छ । सभाको एक समारोहबीच प्रदेश सांसद डिल्लीराज पन्तले उद्घाटन गरे ।
सो अवसरमा सांसद पन्तले होटल व्यवसायीहरूलाई स्तरीय सेवासुविधा प्रवाहमा अझ बढि ध्इयान दिन आग्रह गरे । उनले भने– “कैलालीमा पनि होटल व्यवसाय निकै पुरानो व्यवसाय हो । होटल वयवसायले यहाँको आर्थिक बृद्धिमा पनि राम्रो टेवा पुर्‍याएको छ ।”
सांसद पन्तले स्थानीय परिकारहरूको संरक्षण तथा प्रवद्र्धनमा ध्यान दिन होटल व्यवसायीहरूलाई आग्रह गरे ।
उनले प्रदेशलाई आर्थिक रूपमा समृद्ध बनाउन पर्यटन विकासलाई प्राथमिकतामा राख्नैपर्ने बताए । “अहिले पनि हाम्रो प्रदेश गरिवीको रेखामुनी रहेको छ । यहाँ ठूला उद्योग कलकारखाना छैनन्” उनले भने– “राष्ट्रिय गौरवका आयोजनाहरू पनि सञ्चालन छैनन्, त्यसैले प्रदेशलाई आत्मनिर्भर बनाउँदै बेरोजगारी कम गर्न हामीले पर्यटन विकासमा ध्यान दिनै पर्दछ ।”
कार्यक्रममा होटल व्यवसायी संघका सल्लाहकार गोपाल हमालले होटल व्यवसायीले मंसिरमा सञ्चालन गर्ने फुड फेस्टिवलमा स्थानीय परिकारमा जोड दिन आग्रह गरे ।
नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष जगत साउँदले होटलमा बस्न जाने मानिसलाई सुरक्षित भएको र व्यवसायी सञ्चालनमा सुरक्षाको अनुभूति हुने वातावरण मिलाउन आग्रह गरे ।
वडा प्रहरी कार्यालयका इञ्चार्ज वकिलबहादुर सिंहले होटल व्यवसायी र सुरक्षा निकाय एकापसमा निकटतम र समन्वयको अवस्थामा रहुनपर्ने सुझाव दिए । उनले होटलमा कुनै पनि किसिमको गलत क्रियाकलाप हुन्छ भन्ने गुनासो आउन नदिन आग्रह गरे ।
कार्यक्रम होटल व्यवसायी संघ कैलालीका अध्यक्ष कलमबहादुर बमको अध्यक्षतामा भएको थियो । होटल व्यवसायी संघका उपाध्यक्ष श्याम महराले स्वागत गरेको कार्यक्रममा महासचिव केशवदत्त पाण्डेयले वार्षिक प्रतिवेदन पेस गरेका थिए ।
साधारण सभामा महेश्वर होटलका सञ्चालक भक्तबहादुर दियाल, कास्की होटलका सञ्चालक सुन्दर श्रेष्ठ र लामा होटलका सञ्चालक पुरन लामा लोपचनलाई सम्मान गरियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार