२९ बैशाख २०८१, शनिबार

झोले सहकारी संस्थाहरू खारेज गर्छौ– मन्त्री चौधरी



धनगढी । प्रदेश सातका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरीले झोले सहकारी संस्थाहरूलाई खारेज गरिने बताएकी छिन् ।
शनिबार धनगढी उपमहानगरपालिका, फूलवारीमा आयोजित कल्गी बचत तथा ऋण सहकारी संस्थाको पाँचौं वार्षिक साधारण सभामा मन्त्री चौधरीले दर्ता मात्रै गरेर झोलामा सीमित सहकारी संस्थाहरूको दर्ता खारेजी गरिने बताइन् । उनले सहकारी व्यवस्थापन ऐनको प्रभावकारी कार्यान्वयन गरिन् बताइन् ।
‘प्रदेशमे सयौं सहकारी छन्’, मन्त्री चौधरीले भनिन् ‘केही विधिवत कार्यालय स्थापना गरेर गरिव घरपरिवार तथा किसानहरूलाई सहयोगी बनि सञ्चालित छन भने केही झोलामा सीमित छन् ।’ उनले सहकारीलाई व्यवस्थित बनाउँदै अघि बढ्नुपर्ने बताइन् ।
कार्यक्रममा प्रदेश सभा सदस्य नेपालु चौधरीले सहकारी संस्थाहरूबाट गरिब तथा विपन्न घरपरिवार तथा किसानहरूले सहुलियत दरमा ऋण पाउनुका साथै बचत गर्ने बानीको विकासमा पनि मद्दत पुर्‍याइरहेको बताए ।
सो अवसरमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका सदस्य माधव जोशीले कल्गी बचत तथा ऋण सहकारी संस्था स्थापना भएको छोटो समय भए पनि प्रगति गर्न सफल भएको बताए ।
कार्यक्रममा धनगढी उपमहानगरपालिका वडा नम्बर १४ का वडाध्यक्ष रामबजारी चौधरी, वडा १८ का वडाध्यक्ष मुरारी अधिकारी, कुटो, कोदालो आधुनिक कृषि सहकारी संस्थाका अध्यक्ष ओमप्रसाद शर्मा, स्वयं जागृति ऋण बचत तथा सहकारी संस्थाका लक्ष्मी जैशी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा कल्गी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रामचन्द्र चौधरीले आर्थिक वर्ष २०७४/०७५ को सामाजिक प्रतिवेदन तथा चालू आर्थिक वर्ष २०७५/०७६ को प्रस्ताविक कार्यक्रम प्रस्तुत गरेका थिए ।
अध्यक्ष चौधरीले २०७० सालमा स्थापना भएको सो संस्थामा हाल तीन सय ३२ जना शेयर सदस्य रहेको र कुल शेयर पुँजी १२ लाख ३६ हजार पाँच सय रुपैयाँ रहेको जानकारी दिए ।
प्रतिवेदनमा सो सहकारी संस्थाले पाँच वर्षको अवधिमा शेयर पुँजी १२ लाख ३६ हजार पाँच सय, निक्षेप ६६ लाख ९६ हजार संकलन गरी तीन करोड ७७ लाख पाँच हजार छ सय रुपैयाँको करोबार गरेको उल्लेख छ ।
कार्यक्रममा सहकारी संस्थाका व्यवस्थापक रुद्र खनालले गत आर्थिक वर्ष २०७४/०७५ को तीन करोड ७७ लाख पाँच हजार छ सय रुपैयाँको आयव्यय विवरण प्रस्तुत गरेका थिए ।
कार्यक्रम सहकारी संस्थाका अध्यक्ष रामचन्द्र चौधरीको अध्यक्षतामा भएको थियो । संस्थाका कोषाध्यक्ष प्रदेशी चौधरीले स्वागत गरेको साधारण सभाको सञ्चालन सचिव जगदिश चौधरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार