१४ मंसिर २०७९, बुधबार

हामी नारीले डरैडरमा कहिलेसम्म बाँच्नुपर्ने सरकार !



ओहो ! अहिले नेपालमा मान्छे मार्ने भनेको त गुलेलीले चरा मार्नु जत्तिकै भएछ । प्रत्येक दिन अपराधका घटनाका समाचार सुन्दा र पढ्दा साह्रै खिन्न लागिसक्यो । बालिका बलात्कार हुने क्रम बढेको बढ्यै छ । सामुहिक बलात्कार र हत्याका घटना दोहोरिरहेका छन् । यी र यस्तै हत्या, दुर्घटनाका समाचार सुन्नुपर्दा म जस्ता हजारौं नेपाली आमा बिचलित भइरहेका छौं । स्तब्ध छौं । मर्माहित छौं । अझ, म जस्ता आफ्नो छोराछोरीको लालनपालन तथा उज्ज्वल भविष्यका लागि विदेशमा कष्टपूर्ण रोजगारी गरिरहेका हजारौं नेपाली आमाहरूको पीडा कसले बुझ्ने ?
म रोजगारीका लागि धेरै वर्षदेखि विदेशमा छु । मेरो मुलुकमा दिनहु भइरहेका बालिका बलात्कार, हत्याका घटनाबाट लाखौं आमाबुबालाई कस्तो अनुभव भइरहेको होला ? मैले अनुमान मात्रै गर्न सक्छु । छोराछोरीको मनमा आशंका भइरहदो होला– गाईगोरु चराउन अथवा दाउरापात गर्न बन गएकी हाम्री आमा साँझ सकुशल घर फर्किन्छिन् कि फर्किदैनन् ? आमाबुबा दिनभरी त्रसित हुँदा होलान्– विद्यालय, कलेज पढ्न गएकी हाम्री छोरीलाई कोही आततायी, पापीले केही नोक्सान त गर्ने होइन ? झन्, रातीको समयमा रोजगारी गर्ने वा पढ्न जाने छोरी घर नफर्किन्जेल आमाबुबाको सातो गइरहेको हुन्छ होला । सात समुद्रपारी दिनरात काममा जोतिएर राती सुत्न ओछ्यानमा पल्टिँदा मेरो आँखामा हत्तपत्त निद्रा आउदैन । मैले ती तमाम आमाको मनोभावना अनुभव गर्ने प्रयास गर्छु– जीवनमा सबैथोक गुमाएर सन्तानको नाममा एउटी छोरीको सहारामा बाचिरहेकी आमाले त्यही एउटी छोरी पनि कुनै दानवको सिकार भएको खबर पाउदा के गर्दि होलिन् ? घरपरिवारबाट निकै टाढा विदेशमा एक्लि म सुत्ने बेलामा अथवा कामबाट फुर्सद पाएको वेला यी र यस्तै कुरा मनमा खेलाउँदै आकुलव्याकुल हुन्छ । हे, ईश्वर र मेरो प्यारो नेपाललाई कस्को श्राप लाग्यो होला ?
सामाजिक सञ्जालमा केही उपबुज्रुकका स्टाटस पढेर रिस मात्रै उठ्दैन, त्यस्ता ‘विद्वान’ को बुद्धिप्रति दया जागेर आउँछ । केहीले सामाजिक सञ्जालमा लेखेछन्– चेलीहरूले मिनिस्कट लगाउँछन्, आधा शरीर देखिने लुगा लगाउँछन् । त्यसै भएर बलात्कारका घटना बढेका छन् । म त्यस्ता उपबुज्रुकहरूलाई सोध्छु– कलाकारहरूले एक वित्ताको ड्रेस लगाएर मञ्चमा उफ्रिरहँदा तिमिहरू आँखा नभए झै ताली पिटेर किन बसिरहेका हुन्छौं । डान्सबार, अथवा डिस्कोमा लगभग नग्न नर्तकीको तालमा मदहोश बनिरहेका हुन्छौं, किन ?
म अहिले मध्यपूर्वको एउटा देशमा छु । दुईचार अरु विकशित र आधुनिक मुलुक पनि घुमेकी छु । केही जान्ने मौका पनि पाएकी छु । विकशित मुलुकमा महिला वा युवतिले छोटा कपडा लगाउछन् । तर सोही आधारमा बलात्कारका घटना त हुदैनन् ? सडक, अथवा कार्यालय अथवा कुनै पनि स्थानमा कोही पनि पुरुषले महिलालाई नराम्रो दृष्टिले समेत हेर्दैनन् । कहिँकतै झुक्किएर कोही महिलाको शरीर छोयो भने हतारहतारमा माफी माग्छन् । अनि, नेपालमा सडकमा अपेक्षाकृत छोटो लुगा लगाएर हिड्दैमा बलात्कार नै हुन्छ ? थुक्क र तिम्रो बुद्धिमा बिर्को लागोस् ।
म काम गरिरहेको मुलुकमा आधा रातमा होस् वा अरु वेला हामीलाई मान्छेसंग कत्ति पनि डर लाग्दैन । यहाँका नागरिकले बरु हामी विदेशी कामदारको सम्मान गर्छन् । भन्छन्– कहाँ जानुहुन्छ । यदि कुनै समस्या छ भने तपाईंलाई पुर्‍याइदिन्छु । मेरो देश नेपाल, जहाँ म जन्मे, हुर्के, त्यहाँ हामी महिला किन सुरक्षित हुदैनौ ? के कारणले हामी महिलाले आफ्नै मुलुक र समाजमा असुरक्षित हुनु परेको होला ? मनमा यस्तै कुरा खेलिरहदा, निकै बेचैनि हुन्छ । खिन्न हुन्छु । मेरो मुलुकका पुरुष दाजुभाईहरु भन्नुस् त– हामी महिला किन आफ्नै मुलुकभित्र असुरक्षित भइरहनु पर्ने ? मेरो मुलुकको सरकारलाई सोध्छु– आफ्नै देशभित्र हामी महिलाले एक्लाएक्लै हिडडुल गर्दा कहिलेसम्म डराईरहनु पर्ने ? हामी नेपाली महिलाले के सधैं डरैडरमा बाच्नुपर्ने हो त, सरकार र आफ्नै आफन्त, अभिभावकबाट समेत छोरीको अस्मिता लुटिएका खबरले हाम्रो मानसिकता तथा प्रवृत्ति कति आसुरी बन्दै गएको छ भन्ने संकेत गर्दैछ । श्रीमानबाट श्रीमती मारिएका घटना छन् । दाजुभाईबाट समेत दिदीबहिनी असुरक्षित भएका घटना अथवा शिक्षक, प्रहरी अधिकारी, पहुँच भएका व्यक्ति, राजनीतिक नेताबाट लुटिएका महिलाका कथाव्यथा दोहोरिरहँदा हामी महिलालाई कसले सुरक्षा देला ? बलात्कारका घटना यसरी नै बढिरहने हुन् भने हामीले सभ्य समाज भन्न नै लाज मान्नु पर्दैन र ? डरैडरमा हामी नेपाली महिलाले कति दिन बाच्नुपर्ने हो सरकार ?

पर्वत, हाल इजरायल

प्रतिक्रिया दिनुहोस्